काठमाडौं । आगामी संवत् २०८२ साल फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु गरेको छ। आयोगको मिति २०८२/०८/२० को निर्णयअनुसार फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नेपाली नागरिकलाई मतदाता नामावलीमा समावेश गरिने कट–अफ मिति तोकिएको हो ।
देशभरबाट २०८२/०८/०५ सम्म संकलित मतदाताको विवरणलाई अद्यावधिक गरिने आयोगले जनाएको छ। अद्यावधिक (दाबी–विरोध) अन्तर्गत संकलित विवरण आयोगको वेबसाइटमा प्रकाशित भएपछि मतदाताले २०८२/०८/२६ सम्म नामावलीमा रहेको त्रुटि सच्याउन, झुट्टा विवरणसम्बन्धी उजुरी दिन, दोहोरो नाम दर्ता भएकामा एक स्थान कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन जानकारी गराउन सक्नेछन्।
आयोगले प्राप्त निवेदन र सूचनाअनुसार प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ।
यसबाहेक मतदान स्थल पुनरावलोकनसमेत गरिएको आयोगले जनाएको छ। मतदाताले आफूलाई पायक पर्ने मतदान स्थल छान्न https://applyvr.election.gov.np मार्फत वा सम्बन्धित प्रदेश/जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।
मतदाता नामावलीलाई थप शुद्ध र त्रुटिरहित बनाउन दाबी–विरोध अवधिभित्र अनलाइनमार्फत निवेदन, सूचना तथा उजुरी दिन सबै सरोकारवालालाई सक्रिय सहभागिताको आह्वान आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले गरेका छन्।
