काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकामा सरकारी सम्पत्ति हिनामिनासहित भ्रष्टाचार गरेको आरोपमा सात जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। आरोपपत्रमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित सात जना कर्मचारी र सरिता फाउण्डेशन, काठमाडौं समावेश छन्।
अख्तियारका अनुसार, आ.व. २०७७/०७८ को वार्षिक बजेट स्वीकृत नगराई सरिता फाउण्डेशनको नाममा पाँच लाख रुपैयाँ बराबरको चेक काटी मिलेमतोमा रकम हिनामिना गरिएको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। कटहरिया नगरपालिकाले डकुमेन्ट्री खरिद कार्यमा आवश्यक प्रक्रिया पूरा नगरी सरकारी रकम रु. ९,९८,९२१/- दुरुपयोग गरेको देखिएको छ।
अनुसन्धानमा उल्लेख छ कि डकुमेन्ट्री निर्माण कार्य वार्षिक स्वीकृत कार्यक्रममा नभएको, लागत अनुमान तयार गर्न स्रोत सुनिश्चित नभएको र कार्यसम्पादन मितिभन्दा ढिला गरी भुक्तानी गरिएको थियो। सेवा प्रदायकले प्राविधिक प्रस्तावमा उल्लेख गरेअनुसार चार फरक विषयमा डकुमेन्ट्री बनाउने भए पनि केही विषय मिल्दोजुल्दो गरी नगर प्रमुखको गुणगान देखिने प्रकारका काम गरिएको देखिएको छ।
अख्तियारले प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सजायको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
प्रतिवादीहरू र बिगो रकम यसप्रकार छन्:
-
राम प्रकाश साह र सहायक लेखापाल विवेक कुमार सहनी: रु. ९,९८,९२१/-
-
अन्य कर्मचारीहरू: रु. ९,९८,९२१/-
-
सरिता फाउण्डेशन, काठमाडौं र निर्देशक सरिता कुमारी साह: रु. ९,९८,९२१/-