काठमाडौं। नेपाल राष्ट्र बैंकले नयाँ विशेषतासहितको १०० रुपैयाँ नोट आजदेखि प्रचलनमा ल्याएको छ।
साबिककै आकार र रङमा आएको नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त…’ भन्ने प्रतिज्ञात्मक वाक्यांश समावेश गरिएको बैंकले जनाएको छ।
नोटको बायाँपट्टि सगरमाथाको चित्र र दायाँपट्टि लालीगुराँसको पानीछाप रहेको छ। बीच भागमा नेपालको नक्सा र अशोक स्तम्भ समावेश छन्। दृष्टिविहीनकाे सहजिकरणका लागि अशोक स्तम्भ नजिक स्पर्शयोग्य थोप्ला राखिएको छ।
सुरक्षाका लागि २ मिमे चौडाइको सुरक्षा धागो प्रयोग गरिएको छ, जसमा सीधा हेर्दा रातो र ढल्काउँदा हरियो रङ देखिन्छ। नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर र ‘वि.सं. २०८१’ लिखित सिरिज नम्बर पनि रहेको छ।
