२०८३ साउन १२ मंगलबार

अवैध आयात रोकिएपछि नेपाली किसानले पाए अण्डाको लागत मूल्य

ई आर्थिक    आइतबार, मंसिर ७ २०८२
1.3K
Shares
अवैध आयात रोकिएपछि नेपाली किसानले पाए अण्डाको लागत मूल्य

चितवन। अवैध अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाएका छन्। निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अण्डा रोकिएको छ। यससँगै नेपालमा अण्डाको मूल्य आजबाट लागु हुनेगरी भारी वृद्धि भएको हो।

किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक संघले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि भएको हो। यसअनुसार अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय २०, ठूलो अण्डा पाँच सय पाँच र मिडिएम चार सय ९० कायम गरिएको छ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट ५५ रुपैयाँले बढेको हो। उनका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो। भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको उनले बताए।

संघका सल्लाहाकार त्रिलोचन कँडेलका अनुसार भारतमा प्रतिगोटा अण्डा भारतीय सात दशमलब ८० रुपैयाँमा बिकेको छ। भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयाससमेत नगरिएको हो।

कँडेलले भने, ‘नेपालमा भारतीय अवैध अण्डा नभित्रिँदा किसानले लागत मूल्य पाउने देखियो।’ अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा १६ दशमलब ५७ पर्न आउँछ। अहिलेको दररेटमा अण्डा बिक्री गर्दा नेपालका किसानले लागत मूल्य पाएको उनले बताए।

नेपालमा अण्डाको बजारीकरणमा जुटिरहेको संघका अध्यक्ष पोखरेलले जाडो महिनामा अण्डाको खपत बढ्ने गरेको बताए। उनका अनुसार जाडोमा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतना जगाउन सकेका कारण माग बढेको हो।

तीन महिनाअघि ठूलो अण्डा प्रतिक्रेट पाँच सय ३० पुगेकामा क्रमशः चार सयमा झरेको थियो। पुनः क्रमश बढ्दै गएर किसानले लागत मूल्य पाउने अवस्थामा पुगेको हो। यससँगै किसान लाभान्वित हुने भएका छन्। अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij