काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा शान्ति, सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न नेपाली सेना परिचालन गर्न राष्ट्रीय सुरक्षा परिषद्ले सरकारसमक्ष सिफारिस गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको सुरक्षा परिषद्को बैठकले नेपालको संविधानको धारा २६६ को उपधारा (१) अनुसार सेना परिचालनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको हो। बैठकका निष्कर्षबारे रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव सुमनराज अर्यालले विज्ञप्ति जारी गरेका छन्।
बैठकमा राष्ट्रिय सुरक्षामा देखा परिरहेका विभिन्न चुनौती, भूराजनीतिक तथा आन्तरिक परिस्थितिले पार्न सक्ने सम्भावित प्रभाव, र आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको उल्लेख गरिएको छ।
साथै परिषद्को आठौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) को मस्यौदा पनि बैठकमा प्रस्तुत गरिएको थियो। आवश्यक संशोधनसहित प्रतिवेदन स्वीकृत गरी संविधानको धारा २६६ को उपधारा (३) अनुसार राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरिएको सचिव अर्यालले जनाएका छन्।