२०८३ साउन १० आइतबार

प्रहरी संगठनको मनोबल उच्च बनाएर जनअपेक्षा पूरा गर्ने आइजीपी कार्कीको प्रतिबद्धता

ई आर्थिक    बिहिबार, कार्तिक २७ २०८२
4.2K
Shares
प्रहरी संगठनको मनोबल उच्च बनाएर जनअपेक्षा पूरा गर्ने आइजीपी कार्कीको प्रतिबद्धता

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले प्रहरी संगठनको मनोबल उच्च राख्दै सरकार र आम नागरिकको अपेक्षा अनुसार प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा दर्ज्यानी चिन्ह ग्रहण गरेपछि संक्षिप्त मन्तव्य राख्दै आइजीपी कार्कीले सुदृढ नेतृत्व र सामूहिकतामार्फत संगठनलाई थप सक्षम र जनमुखी बनाउने बताए।

“अपराध र सुरक्षा चुनौतीका बदलिँदा स्वरूप, सूचना प्रविधिको तीव्र विकास र सुशासनप्रतिको जनअपेक्षालाई ध्यानमा राखी उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमता निर्माण गर्नु सरकार र प्रहरी संगठनको साझा दायित्व हो,” कार्कीले भने।

उनले हालैको जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीका बीच पनि प्रहरी संगठनले कुनै सुरक्षा रिक्तता हुन नदिई तत्काल जनसेवामा परिचालन भएको उल्लेख गर्दै छोटो समयमा संरचना र सेवा पुनःस्थापनामा देखिएको सक्रियताले प्रहरीको भूमिका स्पष्ट भएको बताए।

२८ वर्ष लामो सेवा अवधिमा प्राप्त अनुभवको कदर गर्दै कार्कीले प्रहरी संगठनको नेतृत्व गर्ने अवसर प्रदान गरेकामा सरकारप्रति आभार व्यक्त गरे।

समारोहमा गृह सचिव रामेश्वर दङ्गालले नवनियुक्त आइजीपी कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरे।

यसअघि ३० वर्षे सेवा अवधि पूरा गर्दै प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अनिवार्य अवकाशमा गएपछि सरकारले प्रहरी अतिरिक्त महानिरीक्षकमध्ये वरिष्ठतम् कार्कीलाई प्रहरी संगठनको प्रमुख बनाउने निर्णय गरेको हो।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक टेकेन्द्र, प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, तथा गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij