२०८३ साउन १२ मंगलबार

म्याग्दीको न्युखोलामा झोलुंगे पुल सञ्चालनमा, दुई सय परिवार प्रत्यक्ष लाभान्वित

ई आर्थिक    मंगलबार, कार्तिक ११ २०८२
2.3K
Shares
म्याग्दीको न्युखोलामा झोलुंगे पुल सञ्चालनमा, दुई सय परिवार प्रत्यक्ष लाभान्वित

म्याग्दी ।  म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–४ न्युखोलामा निर्माण गरिएको झोलुंगे पुलबाट करिब दुई सय परिवार प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। पुल सञ्चालनमा आएपछि स्थानीयवासीको यात्रा समय र जोखिम दुवै घटेको छ।

९२ दशमलव ५ मिटर लम्बाइको उक्त पुल मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ गाउँ जोड्ने खोलामा निर्माण गरेको हो। पुल निर्माण भएपछि खोल्सा र जङ्गल हुँदै लामो बाटो हिँड्नुपर्ने बाध्यता हटेको उपभोक्ता समितिका अध्यक्ष सविता रोकाले बताइन्।

रोकाका अनुसार पुल निर्माणअघि धापुङ र महेशका बासिन्दाले वडा कार्यालय पुग्न एक घण्टा लाग्थ्यो भने अहिले यात्रा समय घटेर ३० मिनेटमा सीमित भएको छ। “बर्खामा न्युखोलामा बाढी आउँदा वारपार गर्न जोखिम मोलेर हिँड्नुपर्ने अवस्था अब अन्त्य भएको छ,” उनले भनिन्।

उक्त पुल कुल ५७ लाख १० हजार ८६० रुपैयाँ लागतमा निर्माण गरिएको हो। उपभोक्ता समितिले निर्माणको जिम्मा लिएको थियो। पुल निर्माणका क्रममा स्थानीय उपभोक्ताले ६४ हजार ९६१ रुपैयाँ बराबरको श्रमदान गरेका थिए।

आधिकारिक विवरणअनुसार ११ लाख ६६ हजार ४२४ रुपैयाँमा स्टिल पार्ट्स खरिद र ३१ लाख ८३ हजार ९१ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गरिएको छ। सोमबार पुलको उद्घाटन प्रतिनिधिसभाका निवर्तमान सदस्य तथा पूर्वराज्यमन्त्री खमबहादुर गर्बुजाले गर्नुभयो।

पुल सञ्चालनमा आएपछि स्थानीयले नाचगान गरेर खुसी मनाएका छन्। स्थानीय सरकारका अनुसार यस पुलले स्थानिक यातायात र बजार पहुँच सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij