ई-आर्थिक, मुस्ताङ । घरपझोङ गाउँपालिकाभित्र पर्ने मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नतिको तयारी सुरु भएको छ। गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्ष २०८२/८३ का लागि उक्त सडक सुधारका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ।
पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजयकुमार श्रेष्ठका अनुसार यो सडकलाई दीर्घकालीन बहुवर्षीय योजनाका रूपमा लैजाने तयारी भइरहेको छ। योजना स्वीकृत भएमा आवश्यक खण्डमा कालोपत्र र स्तरोन्नति कार्य एकैसाथ अघि बढाइनेछ।
“हाल हामीले तत्काल कार्यान्वयन स्थगित राखेका छौं,” प्रमुख श्रेष्ठले भने, “यदि बहुवर्षीय कार्यक्रमका रूपमा स्वीकृति पायौं भने सोही अनुसार प्रक्रिया अघि बढाइनेछ।”
बेनी–जोमसोम ७६ किलोमिटर सडकखण्डको मार्फा क्षेत्रदेखि कालीगण्डकी नदीपारिको छैरो–चिमाङ जोड्ने यो सडक लामो समयदेखि ओझेलमा परेको छ। कालीगण्डकीमा निर्मित मार्फा–छैरो पुल पार गरी चिमाङसम्म पुग्ने करिब चार किलोमिटर सडक अहिले जीर्ण अवस्थामा छ।
छैरो–चोखोपानी हुँदै चिमाङ पुग्ने सडकमा ठाडो उकालो र कच्ची भागहरूका कारण यातायात आवागमनमा कठिनाइ आइरहेको छ। सडक सुधारपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहजता मात्र होइन, कृषि उत्पादनको ढुवानी र बजार पहुँचमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय इन्द्रप्रसाद थकालीका अनुसार सडक कालोपत्र र स्तरोन्नति कार्य सम्पन्न भएमा चिमाङ क्षेत्रको कृषिजन्य वस्तुको बजार विस्तार र पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ।
प्रमुख श्रेष्ठका अनुसार बहुवर्षीय कार्यक्रम स्वीकृत भएमा चालु आर्थिक वर्षमा नै ठेक्का सम्झौता गरेर कार्य सुरु गरिने योजना छ। त्यस क्रममा अहिले विनियोजित रकमको पाँच गुणासम्मको लगानी आवश्यक पर्न सक्ने अनुमान गरिएको छ।