काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले आज (सोमबार) काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदै छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार ललितपुरको खुमलटारबाट उनलाई नियन्त्रणमा लिएको थियो। विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुनसम्बन्धी अनुसन्धानका लागि महरा पक्राउ परेका हुन्।
प्रहरीले सरकारी वकिलमार्फत अदालतमा म्याद थपको माग गर्दै अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ। सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, महरामाथि कानून बमोजिम अनुसन्धान भइरहेको छ।
यसअघि २०८० चैतमा पनि महरा सोही प्रकरणमा पक्राउ परेका थिए। त्यतिबेला बयानपछि उनी हाजिर जमानीमा रिहा भएका थिए। तर पछिल्लो समय सुन तस्करी जाँचबुझ आयोगले संगठित तस्करीको संलग्नतासहित पुनः मुद्दा चलाउन सिफारिस गरेपछि महरा फेरि पक्राउ परेका हुन्।
भेपमार्फत सुन ल्याउने गिरोहसँग महराको सम्बन्ध देखिएको आयोगको निष्कर्ष छ। चिनियाँ तस्कर दाओजिन वाङसँगको सम्पर्क तथा त्रिभुवन विमानस्थलमा जफत गरिएको ७३० थान भेप छुटाउन महरा र उनका छोरा राहुलको संलग्नता रहेको अनुसन्धानमा उल्लेख छ। राहुल यसअघि नै पक्राउ परिसकेका छन्।
सीआईबीले महरामाथिको अनुसन्धानपछि पुरक प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ।