२०८३ साउन १० आइतबार

रौतहटको माधव नारायण नगरपालिकामा ठेक्का प्रक्रियामा अनियमितता, तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा

ई आर्थिक    आइतबार, असोज २६ २०८२
3.3K
Shares
रौतहटको माधव नारायण नगरपालिकामा ठेक्का प्रक्रियामा अनियमितता, तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा

रौतहट ।  माधव नारायण नगरपालिकामा विद्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा अनियमितता गर्दै सार्वजनिक खरिद ऐन उल्लंघन गरी भ्रष्टाचार गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको जानकारीअनुसार, नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव र रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रा.लि.का सञ्चालक अजित कुमार कर्ण मिलेमतोमा रु. २ लाख ५७ हजार ९७० बराबरको भ्रष्टाचार गरेको पुष्टि भएपछि उनीहरूमाथि मुद्दा दायर गरिएको हो।

२०७७/७८ को आर्थिक वर्षमा रौतहटको माधव नारायण नगरपालिका–३ सखुअर्वास्थित देवी माध्यमिक विद्यालयमा भवन निर्माणका लागि आह्वान गरिएको ठेक्का प्रक्रिया सम्बन्धी सूचना र स्वीकृतिको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने कानूनी व्यवस्था हुँदाहुँदै पनि, उक्त सूचना “सिटी पोष्ट” नामक सिमित मात्र प्रकाशित पत्रिकामा झुटा विवरणसहित मात्र राखिएको थियो।

अख्तियारका अनुसार, झुटा विवरणसहितको सो पत्रिकालाई अभिलेखका रूपमा नगरपालिकामा पेश गरी भुक्तानी प्रक्रिया अघि बढाइएको र झुटा बिल भरपाईका आधारमा सरकारी रकम भुक्तानी दिइएको पाइएको हो।

अख्तियारले आरोपपत्रमा उल्लेख गरेअनुसार, मिलेमतोमा गरिएको सो कार्यले नगरपालिकालाई हानि पुर्‍याउने र संलग्न पक्षलाई गैरकानूनी लाभ दिने उद्देश्य राखिएको पुष्टि भएको छ। साथै, प्रेस काउन्सिल नेपालले समेत उक्त मिति (२०७७/१०/०८ र २०७७/११/१३) का सूचना सम्बन्धी कुनै पनि अभिलेख आफ्नोमा नभएको जनाएको थियो।

उक्त कार्यलाई सार्वजनिक पदको दुरुपयोग गरी सरकारी रकम हिनामिना गरेको ठहर गर्दै अख्तियारले तीनै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको मागसहित आरोपपत्र दर्ता गरेको हो।

प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा विशेष अदालतबाट कारबाही अघि बढाइने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij