ई-आर्थिक, काठमाडौं । दशैं, तिहार तथा छठजस्ता चाडपर्वका अवसरमा हवाई यात्रुको चाप अत्यधिक हुने भएकाले हवाई टिकटमा कृत्रिम अभाव सिर्जना गरी महँगोमा विक्री हुने सम्भावनालाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले कडा निगरानी गर्ने जनाएको छ।
प्राधिकरणले यसअघि पनि पटक–पटक वायुसेवा कम्पनीहरू तथा सरोकारवाला निकायलाई नेपाल सरकारद्वारा तोकिएको अधिकतम भाडादरको सीमाभित्रै रही टिकट विक्री गर्न स्पष्ट निर्देशन दिइसकेको छ।
प्राधिकरणका अनुसार नेपाल सरकारद्वारा स्वीकृत अधिकतम हवाई भाडादर यसप्रकार रहेको छ:
वृत खण्ड अधिकतम भाडादर (रु) |
काठमाडौं – विराटनगर ९,७८५
काठमाडौं – भरतपुर ४,६४३
काठमाडौं – भद्रपुर १२,११२
काठमाडौं – जनकपुर ५,४७०
काठमाडौं – पोखरा ६,६३५
काठमाडौं – नेपालगञ्ज १३,१०३
काठमाडौं – धनगढी १७,५७९
काठमाडौं – सिमरा ३,९७८
काठमाडौं – राजविराज ८,४६१
काठमाडौं – भैरहवा ८,२१०
काठमाडौं – सुर्खेत ९,०३०
काठमाडौं – तुम्लिङटार ७,६३०
प्राधिकरणले अधिकतम तोकिएको भाडादरभन्दा बढी शुल्क लिने कुनै पनि वायुसेवा कम्पनी, ट्राभल एजेन्सी वा आधिकारिक टिकट विक्रेताविरुद्ध यात्रुले उजुरी गर्न सक्ने व्यवस्था गरेको छ। यात्रुले यस्तो अवस्थाको जानकारी सम्बन्धित विमानस्थल कार्यालय, विमानस्थलस्थित सुरक्षा प्रहरी, प्राधिकरणको वेबसाइटमा रहेको **Voluntary Information Reporting System (VIRS)** वा **Hotline नं. 014113163** मा दिन सक्नेछन्।
प्राधिकरणले तोकिएको भाडादरभन्दा बढीमा टिकट विक्री गरेमा सम्बन्धित कम्पनी वा व्यक्तिविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइने पनि चेतावनी दिएको छ।
प्राधिकरणले सबै यात्रु र उपभोक्तालाई सचेत रहन र अनियमितताको सूचना दिन अनुरोध गर्दै “भ्रष्टाचारीहरूलाई सामाजिक बहिष्कार” गर्ने साझा आवाजमा ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।**
