२०८३ साउन १० आइतबार

व्यास नगरपालिकाको विकासको गती: एक वर्षमै १,०५४ आयोजना सम्पन्न

ई आर्थिक    बिहिबार, असोज १६ २०८२
3.9K
Shares
व्यास नगरपालिकाको विकासको गती: एक वर्षमै १,०५४ आयोजना सम्पन्न

९ किमी सडक ट्र्याक, एक पक्की पुल, पाँच उद्यान र ४९६ घरमा खानेपानीको व्यवस्था

ई-आर्थिक, दमौली ।  तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कुल १,०५४ वटा विकास निर्माणका आयोजना सम्पन्न गरेको छ। नगरको समग्र विकासलाई प्राथमिकतामा राख्दै सञ्चालित यी आयोजनामध्ये एक हजार २१ उपभोक्ता समितिमार्फत र ३३ आयोजना ठेक्कामार्फत सम्पन्न गरिएको नगर प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए।

नगरपालिकाले सो वर्षमा मात्र ९ किलोमिटर नयाँ सडक ट्र्याक खोलेको छ भने ३.९४ किलोमिटर सडकमा कालोपत्र र ढलान गरेको छ। हालसम्म नगरभित्र १०५ किलोमिटर सडकमा कालोपत्र वा ढलान भइसकेको छ।

“यी सडकहरू नगरका भित्री क्षेत्रसँगै ग्रामीण बस्तीहरू जोड्ने खालका छन्,” प्रमुख प्रशासकीय अधिकृत लम्सालले भने।

त्यस्तै, सो आवमा नगर क्षेत्रभित्र एक पक्की पुल निर्माण भएको छ भने पाँच स्थानमा सार्वजनिक उद्यानहरू तयार गरिएका छन्। साथै, ४९६ घरधुरीमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिएको छ।

 ५० लाखभन्दा माथि लागतका १६ आयोजना

आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएका आयोजनामध्ये १६ वटा आयोजना ५० लाख रुपैयाँभन्दा बढी लागतका छन्। १ सय ६६ आयोजना पाँच लाखदेखि ५० लाख रुपैयाँसम्मको लागतमा सम्पन्न भएका छन् भने बाँकी ८७२ आयोजना पाँच लाख रुपैयाँभन्दा कम लागतका छन्।

विकासका गतिविधिलाई तीव्र गतिमा अगाडि बढाउने उद्देश्यले काम गरिरहेको व्यास नगरपालिकाले आगामी वर्षमा समेत पूर्वाधार, खानेपानी, वातावरण संरक्षण र सरसफाइमा जोड दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij