झापा । मेची भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा अलैँची निर्यातमा ४३ दशमलव ९० प्रतिशतले वृद्धि भएको छ। भन्सार कार्यालयका तथ्याङ्कअनुसार यो अवधिमा ५२२ मेट्रिकटन अलैँची निर्यात भई ८५ करोड ९६ लाख ११ हजार रुपैयाँ आम्दानी भएको हो।
गत वर्षको सोही अवधिमा ५९ करोड ७३ लाख ५२ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो। कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार निर्यात वृद्धि हुनुमा माग बढ्नु मुख्य कारण हो।
यता, सोही अवधिमा चियाको निर्यातमा भने ३४ प्रतिशतको गिरावट आएको छ। चालु आवको साउन र भदौ महिनामा ७५ करोड ३ लाख ४८ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ। अघिल्लो वर्ष यो परिमाण १ अर्ब १३ करोड ७४ लाख ८ हजार रुपैयाँ थियो।
भन्सार तथ्याङ्कअनुसार अन्य केही वस्तुहरूको निर्यातमा समेत उल्लेखनीय उतारचढाव देखिएको छ। छुर्पीको निर्यात ९८.३० प्रतिशतले, काउली, ब्रोकाउली र बन्दागोपीको निर्यात १५५.२० प्रतिशतले, भेनियर सिटको निर्यात ७४ प्रतिशतले र मुसुरो दालको निर्यात ६५५.१० प्रतिशतले वृद्धि भएको छ।
त्यसैगरी फलामे पाता ९३.४० प्रतिशत, अदुवा ४१.८० प्रतिशत र अम्रिसो ३०.१० प्रतिशतले घटेको भन्सार कार्यालयले जनाएको छ।
दुई महिनाको अवधिमा मेची भन्सारमार्फत कूल ३ अर्ब ६ करोड ३७ लाख ३९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको कार्यालयले जनाएको छ।