ई–आर्थिक, काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी क्यानाडा उडेपछि जेनजीहरु आक्रोशित भएका छन् । पदमुक्त गरेर कारवाही गर्नुपर्ने चौतर्फी आवाज उठिरहेका महानिर्देशक अधिकारी सरकारलाई चुनौति दिंदै क्यानाडा उडेपछि जेनजीहरु आक्रोशित भएका हुन् ।
सरकार परिवर्तन गराउने जेनजी समूहको तर्फबाट महानिर्देशक अधिकारीलाई कारवाही गर्न लिखित निवेदन दिइएको थियो । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष यस्तो लिखित उजुरी परेको पहिलो थियो ।
सुशासनसहित भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकता राख्ने लक्ष्य सहित बनेको सरकारलाई कारवाहीको निवेदन दिंदा समेत वेवास्ता गर्दै अधिकारी क्यानाडा उड्न सफल भएका थिए ।
‘भ्रष्टाचार गरेको संसदीय उपसमितिको अध्ययनले देखाइसकेपछि त्यस्ता प्रमाणित व्यक्तिलाई कारवाही होस भन्ने हाम्रो माग थियो ।’ लिखित निवेदन दिने जेनजी समूहका सदस्य राजन श्रेष्ठले भने– ‘महानिर्देशक अधिकारीलाई कारवाही गर्नुपर्छ भन्ने सरकारमा बसेकालाई थाहा हुँदा हुँदै लिखित निवदेन दिंदा समेत कारवाही भएन्, यसबाट हामी आश्चर्यमा परेका छौं ।’ यसरी कारवाहीको सूचिमा रहेका महत्वपूर्ण व्यक्तिहरु विदेश उडदा समेत सरकारले रोक्न चासो नदिनुलाई जेनजी समूहहरुले अर्थपूर्ण तरिकाले हेरेको बताएका छन् ।
‘सबैको आशा र भरोसाबाट बनेको सरकारले हामीलाई पहिलो गाँसमै ढुंगा लगाइदियो ।’ जेनजी समूहकै विष्णु पराजुलीले भने– ‘सरकारको नियतमा शंका पैदा भएको छ ।’ सरकारले यस्तो गम्भीर गल्ती गर्न नहुने भन्दै अव आशा हैन सरकारको खबरदारी गर्ने उनले बताए । उनीहरुको निवेदनमा महानिर्देशक अधिकारीलगायत क्यानाडा उड्ने सूचीमा रहेका २२ जनालाई ‘रोक्न’ पनि भनिएको थियो ।
क्यानाडामा आइकाओ एसेम्लीको मौका छोपी परिवारसहित लामो समय भ्रमण गरेर राज्यको करोडौं स्वाहा पार्ने योजना भने जेनजी समूहले तुहाइदिएको छ । जेनजीले परिवर्तनकारी आन्दोलन नगरिदिएका भए निवर्तमान पर्यटन मन्त्री र मन्त्री पत्नीसहित महानिर्देशक अधिकारीहरु क्यानाडा भ्रमण मोज मस्ती र घुमघामसहितको योजना सफल हुने प्राधिकरण स्रोत बताउँछ ।
मन्त्री परिषद् विस्तारमा अलमलको मौका छोपेर महानिर्देशक अधिकारीले सचिव हुँदै मूख्य सचिवको अनुमतिबाट क्यानाडा उड्न सफल भएको पर्यटन मन्त्रालय स्रोत बताउँछन् । उनीसँगै प्राधिकरणकै उपमहानिर्देशक–२ देव चन्द्रलाल कर्ण पनि क्यानाडा उडेका छन् ।
संसदको लेखा समिति अन्तर्गत राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा करोडौं भ्रष्टाचार भएको अध्ययन सहितको प्रतिवेदन यसअघिको सरकार र कारवाही गर्ने सम्बन्धित निकायलाई बुझाएको बारेमा थाहा नहुने सायदै होलान् ।
प्रतिवेदनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले करोडौं रुपैयाँ भ्रष्टाचार गरेको र उनलाई तत्कालै पदबाट बर्खास्त गरी कारवाही गर्न सिफारिस गरेको
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा महानिर्देशक अधिकारीलगायतले करोडौं भ्रष्टाचार गरेको विषयमा थाहा हुँदा र लिखित थाहा दिंदा समेत कारवाही अघि बढाउनुको साटो उडाउन सहजीकरण गरिदिनुले सरकारलाई जेनजीलगायतको शंकाको दृष्टिले हेरेको छ । यतिका युवा साथीहरुको बलिदानले बनेको सरकार र अघिल्लो सरकारमा फकर के भयो त ? जेनजी आन्दोलनका अर्का अगुवा रमेश सिंहले प्रश्न गरे ।
नेपालको तर्फबाट एसेम्वलीमा कसलाई मतदान गर्ने भनि प्रक्रिया सहित सहमति अनिवार्य लिनुपर्ने प्रावधान छ । त्यस शिलशिलामा नेपाल सरकार, प्रधानमन्त्री, विभागीय मन्त्रालय हुँदै मन्त्रीपरिषद्समेतको अनुमति र निर्णय अनिवार्य हुन्छ । तर उक्त सबै प्रक्रिया मिचेर प्राधिकरणका महानिर्देशक क्यानाडा उडेको कानुनका जानकारहरु बताउँछन् ।
कार्यक्रम तालिका अनुसार उनी अक्टोवर ३ सम्मको कार्यक्रम फर्केर नेपाल आउनु पर्नेछ ।
उता प्राधिकरण कर्मचारीहरु समेतलाई ‘कार्यक्रममा नजाने’ भनि झुक्याएर क्याडाना उडेका महानिर्देशक अधिकारी नेपाल नफर्कने आशंका कर्मचारीहरुले गरेका छन् । यस्तो अवस्थामा अधिकारी नेपाल फर्केनन भने उनलाई कसले र कसरी कारवाही हुन्छ ? प्राधिकरण कर्मचारीहरुकै पनि सरकारसँग आक्रोश पोख्दै प्रश्न गरेका छन् ।
उनको पासपोर्ट, उनको बैंक खाता, उनका आफन्तको बैंक खाता रोक्का राख्नुपर्ने कडा मागसहित अविलम्ब कारवाहीको माग जेनजी समूहले अघि सारेका छन् । यो विषयमा सरकारले गर्ने कारवाहीले सरकारको राम्ररी मूल्यांकन हुने उनीहरुको तर्क छ ।