काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि सरकारले आह्वान गरेको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ।
कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकमा रहेका खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात रहेको छ। त्यस्तै, दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर रहेको छ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट रसुवालगायतका क्षेत्रमा ठूलो क्षति भएपछि सरकारले राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। सरकारको आह्वानपछि स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संघसंस्था तथा निकायबाट रकम संकलन भई प्रधानमन्त्री राहत कोषमा दाखिला भएको हो।
कोषमा जम्मा भएको रकम बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनामा परिचालन गरिने सरकारले जनाएको छ।