२०८३ साउन १२ मंगलबार

अलैँचीको बजार मूल्य घट्यो, ‘बोल्ड’ अलैँचीको भाउ ९२ हजारमा सीमित

ई आर्थिक    शुक्रबार, असोज ३ २०८२
3.6K
Shares
अलैँचीको बजार मूल्य घट्यो, ‘बोल्ड’ अलैँचीको भाउ ९२ हजारमा सीमित

झापा ।  दसैंको संघारमा नेपाली बजारमा अलैँचीको मूल्यमा गिरावट देखिएको छ। नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दीपक नेपालका अनुसार प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा विभिन्न गुणस्तरअनुसार अलैँचीको मूल्य रु ८१ हजारदेखि ९२ हजार प्रतिमन (४० किलो) कायम रहेको छ।

उहाँका अनुसार सबैभन्दा राम्रो गुणस्तरको ‘बोल्ड’ अलैँचीको मूल्य प्रतिमन रु ९२ हजार, मध्यम गुणस्तरको ‘जेजे’ को रु ८४ हजार र सामान्य ‘चालु’ गुणस्तरको अलैँचीको मूल्य रु ८१ हजार रहेको छ।

अध्यक्ष नेपालले बताएअनुसार भदौको पहिलो साता अलैँचीको भाउ प्रतिमन रु ९४ हजारसम्म पुगेको थियो। अहिले मूल्यमा आएको गिरावटको मुख्य कारण बजारमा नयाँ उत्पादन आउन सुरु हुनु हो।

“दसैं नजिकिँदै जाँदा किसानले घरायसी खर्च जुटाउन अलैँची बिक्री गर्न थालेका छन्,” अध्यक्ष नेपालले भने, “लेकाली क्षेत्रहरूमा अहिले पनि अलैँची सुकाउने काम धमाधम चलिरहेको छ, अझै ठूलो परिमाणमा अलैँची बजारमा आउन बाँकी छ।”

नेपालको ४२ जिल्लामा अलैँचीखेती हुने गरे पनि कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा यसको अत्यधिक खेती हुन्छ। नेपाल अलैँची व्यवसायी महासंघका अनुसार, कोशी प्रदेशमा ७,५०० हेक्टर, र देशभर १७,००० हेक्टर क्षेत्रफलमा अलैँची खेती हुने गरेको छ।

नेपालमा वार्षिक रूपमा ८,००० मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गर्छ। यसमध्ये करिब ९५ प्रतिशत उत्पादन विदेश निर्यात हुने गर्दछ भने ५ प्रतिशत मात्र आन्तरिक रूपमा खपत हुन्छ।

आर्थिक वर्ष २०८१/८२ मा पूर्वी नाका काँकडभिट्टा हुँदै मात्रै रु ७ अर्ब ६७ करोडको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij