ई-आर्थिक, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्षको दसैँमा खसी, बोका तथा च्याङ्ग्रा बिक्रीका लागि नल्याउने निर्णय गरेको छ।
कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार ‘जेनजी’ आन्दोलनको असर र सडक सुरक्षाको अवस्था कमजोर भएकाले यस्तो निर्णय गरिएको हो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसपछिको निषेधाज्ञा तथा कर्फ्युका कारण ढुवानी तथा आपूर्ति प्रणाली प्रभावित भएको उनले बताए।
“जेनजी आन्दोलनको प्रभाव हो। बाटाहरू पनि राम्रो र सुरक्षित छैनन्,” मिश्रले भने, “यसकारण कम्पनीले यो वर्ष दसैँका लागि खसी, बोका र च्याङ्ग्रा नल्याउने निर्णय गरेको हो।”
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हरेक वर्ष दसैँमा बजारमा मासुको माग सन्तुलनमा राख्न तथा मूल्य नियन्त्रणका लागि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्दै आएको थियो। तर, यस वर्षको परिस्थितिलाई मध्यनजर गर्दै सो प्रक्रिया स्थगित गरिएको हो।
कम्पनीले पशुपालक र उपभोक्तालाई असुविधा नहोस् भन्नका लागि विकल्प अध्ययन गरिरहेको जानकारी पनि दिएको छ।