ई-आर्थिक, हेटौडाँ । जेनजी आन्दोलनका क्रममा हेटौंडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट चोरी तथा लुटपाट गरिएका सामग्री फिर्ता गर्न मकवानपुर प्रहरीले सक्रिय खोजतलास सुरु गरेको छ।
भदौ २४ गते आन्दोलन चरम बिन्दुमा पुगेका बेला सरकारी कार्यालयहरूमा तोडफोड र आगजनीका साथै महत्वपूर्ण कार्यालय सामग्री लुटिएको थियो। अब स्थिति सामान्य हुँदै गएपछि प्रहरीले सीसीटीभी फुटेज, सामाजिक सञ्जालमा देखिएका दृश्य र सूचनाका आधारमा ती सामग्रीहरूको खोजी कार्य तीव्र बनाएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, हालसम्म कम्प्युटर, प्रिन्टर, कुर्सी, फोटोकपी मेसिन, फ्रिज, स्पिकर सेट, ब्याट्री, ल्यापटप, इन्डक्सन चुलो, दराज, र्याक, इलेक्ट्रिक जग, इन्भर्टर, पङ्खा, हार्डडिस्क लगायतका सामग्रीहरू फेला पारिएका छन्।
यी सामग्रीहरू मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय लगायतका कार्यालयहरूबाट लुटिएका थिए। बरामद सामग्री सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरिसकिएको प्रहरीले जनाएको छ।
प्रदर्शनमा १० मन्त्रालयसहित अदालत र आयोगमा तोडफोड
भदौ २४ गते भएको आन्दोलनको क्रममा बागमती प्रदेश सरकारका १० मन्त्रालय, प्रदेशसभा भवन, साथै प्रदेश प्रमुख सचिवको निवास, सरकारी वकिलको कार्यालय, नापी, मालपोत, उच्च अदालत पाटनको हेटौँडा इजलास, लोकसेवा आयोग, यातायात सेवा कार्यालय, जिल्ला अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत दर्जनौँ सरकारी निकायमा तोडफोड र आगजनी गरिएको थियो।
साथै, हेटौँडा उपमहानगरपालिका–२ स्थित भाटभटेनी शपिङ कम्प्लेक्स, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालय, एमाले नेता एकालाल श्रेष्ठको घर, व्यवसायी अजयराज सुमार्गीको घरमा समेत प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए।
प्रहरीका अनुसार अन्य कार्यालय र निजी सम्पत्तिबाट चोरी तथा लुटपाट गरिएका सामग्रीहरूको खोजी अझै जारी रहेको छ। अनुसन्धानको आधारमा संलग्न व्यक्तिहरूविरुद्ध कानुनी कारबाही प्रक्रिया पनि अघि बढाइएको जनाइएको छ।