२०८३ साउन १० आइतबार

अपर राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

ई आर्थिक    बुधबार, असोज १ २०८२
2.2K
Shares
अपर राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

ई-आर्थिक, म्याग्दी ।  म्याग्दीको रघुगंगा गाउँपालिका हुँदै बग्ने राहुघाट नदीमा निर्माण गरिएको ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाले आज (आइतबार)देखि परीक्षण उत्पादन सुरु गरेको छ।

तुँदी पावर लिमिटेड प्रवर्द्धक रहेको यस आयोजनाले बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, स्विचयार्ड निर्माण र उपकरण जडान तथा आन्तरिक परीक्षण सकिएपछि परीक्षण उत्पादन थालेको हो।

आयोजनाका आवासीय इञ्जिनीयर प्रकाश तिमिल्सिनाका अनुसार, नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरूको उपस्थितिमा परीक्षण उत्पादन सुरु गरिएको हो।

“निर्माण भएका भौतिक संरचना र उपकरणहरूको परीक्षण सफल भएको छ,” तिमिल्सिनाले भने, “अब १५ दिनको परीक्षणपछि व्यावसायिक उत्पादन सुरु गर्ने तयारीमा छौं।”

रघुगंगा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नं. ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको यस आयोजनाको ४,९०० मिटर लामो सुरुङ तथा ६८० मिटर लामो पेनस्टक पाइपलाइन जडान गरिएको छ।

इलेक्ट्रोमेकानिकल ठेकेदार एभरेष्ट हाइड्रो, हाइड्रोमेकानिकल ठेकेदार माछापुच्छ्रे मेटल एण्ड मेसिनरी, र सिभिल निर्माणको जिम्मा रामेछाप शेर्पा कन्ट्रक्सनले लिएको हो। सुरुङ निर्माण साउथ एशियन इन्फास्ट्रक्चरले गरेको हो।

अन्य आयोजनासमेत सञ्चालनमा

तुँदी पावरकै ३७.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मंगले जलविद्युत् आयोजनाले गत असारदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ। त्यसैगरी, संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले भदौदेखि व्यावसायिक उत्पादन थालेको छ।

यी आयोजनाबाट उत्पादित विद्युत् रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा अस्थायी रूपमा जोडिएको छ।

बन्दीदेखि चिमखोलासम्म ८ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले साझा रूपमा निर्माण गरेका छन्।

त्यसैगरी, चिमखोलादेखि तिल्केनीसम्मको २२० केभी प्रसारण लाइन चारवटा आयोजनाले (ठूलोखोला, माथिल्लो ठूलोखोला, चिमखोला–राहुघाट–मंगले र अपर राहुघाट) मिलेर निर्माण गरेका हुन्।

१३ अर्बको लागत

दुईवटै आयोजनाको अनुमानित लागत करीब १३ अर्ब रुपैयाँ रहेको बताइएको छ। स्थानीय स्रोतको उपयोग, साझेदारी ढाँचा र पूर्वाधार विकाससँगै यो क्षेत्र जलविद्युत् उत्पादनको केन्द्रको रूपमा अगाडि बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij