ई-आर्थिक, काठमाडौं । चाडपर्वको अवसरमा उपभोक्तालाई राहत दिने उद्देश्यले सरकारले देशभर १५३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले भदौ २९ गते (सोमबार)देखि यी पसलहरू सञ्चालनमा ल्याउन लागेका हुन्।
खाद्य कम्पनीले काठमाडौं उपत्यका सहित ४५ जिल्लाका १११ स्थानमा सहुलियत मूल्य पसल स्थापना गर्ने जानकारी दिएको छ। यी पसलहरूबाट उपभोक्ताले खाद्य वस्तुमा प्रतिकेजी वा प्रतिलिटर पाँचदेखि १० रुपैयाँसम्म छुट पाउनेछन्।
सहुलियत पसलहरूबाट चामल, दाल, गेडागुडी, तेल, चिउरा, चिनी, पिठो, मैदा, क्वाँटी तथा कर्णाली क्षेत्रका रैथाने अन्नजन्य वस्तुहरू बिक्री गरिनेछ। चामल र दालमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइनेछ भने तेल, गेडागुडी, पिठो, चिउरा, चिनीमा ७ रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ। कर्णालीका चिनो, फापर, कागुनो जस्ता अन्नमा भने १० रुपैयाँसम्म छुट पाइनेछ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार दसैँ, तिहार, छठ र मागी पर्वलाई लक्षित गरी अत्यधिक उपभोग हुने सामग्रीको सहज आपूर्ति तथा मूल्य नियन्त्रणका लागि सहुलियत पसल सञ्चालनमा ल्याइएको हो। साथै, अनलाइन अर्डरमार्फत घरमै सामान पुर्याउने होम डेलिभरी सेवा पनि उपलब्ध गराइने उनले बताए।
यस योजनाअन्तर्गत खाद्य कम्पनीले दुई करोड ५२ लाख रुपैयाँ बराबरको राहत दिनेछ, जसको क्षतिपूर्ति सरकारले शोधभर्ना स्वरूप बेहोर्नेछ।
उपत्यकाका प्रमुख स्थानमा पसल
थापाथली, रामशाहपथ, नक्खु, सूर्यविनायक, दक्षिणकाली, गोदावरी, चाँगुनारायण लगायतका स्थानमा पसल सञ्चालन गरिनेछ। यस्तै, घुम्ती सेवा पनि प्रयोग गरिने कम्पनीले जनाएको छ।
साल्ट ट्रेडिङको छुट
साल्ट ट्रेडिङ कर्पोरेसनले देशभर ४२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ। उपत्यकामा ११ स्थानसहित तीन वटा मोबाइल भ्यानमार्फत १४ स्थानमा सेवा उपलब्ध हुनेछ।
कर्पोरेसनले चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा २ रुपैयाँ र तेल, चामल, चिउरा, पिठोलगायतमा ७ रुपैयाँ छुट दिने जनाएको छ। कालीमाटी, सतुङ्गल, ललितपुर, बालाजु, गौशाला, कपन, कौशलटार, भक्तपुर, कोटेश्वर, जावलाखेल, स्वयम्भूजस्ता स्थानमा पसलहरू सञ्चालन हुनेछन्।
प्रवक्ता कुमार राजभण्डारीका अनुसार कर्पोरेसनले काठमाडौं उपत्यकाबाहिरका २२ जिल्लामा समेत मागका आधारमा सेवा विस्तार गर्ने तयारी गरेको छ।
सहुलियत मूल्य पसलमार्फत प्रति व्यक्ति अधिकतम ६ केजी नुन, २ केजी चिनी, र समान मात्रामा तेल, चामल, दाल तथा चिउरा खरिद गर्न पाइनेछ।