२०८३ साउन १२ मंगलबार

देशभरबाट १३ हजार कैदी फरार, राज्यमा त्रास र असुरक्षाको वातावरण

ई आर्थिक    बुधबार, भाद्र २५ २०८२
1.5K
Shares
देशभरबाट १३ हजार कैदी फरार, राज्यमा त्रास र असुरक्षाको वातावरण

ई-आर्थिक, काठमाडौं ।  देशभरका विभिन्न कारागारहरूबाट करिब १३ हजार कैदी एकैपटक फरार भएपछि राज्यको सुरक्षा संयन्त्रको क्षमतामाथि गम्भीर प्रश्न उठेको छ। प्रहरी स्रोतका अनुसार यो घटना योजनाबद्ध ढंगले भएको देखिन्छ, जहाँ कतिपय ठाउँमा हिंसा, तोडफोड र आगजनी गरी कैदीहरू उम्किएका छन् भने कतिपय स्थानमा आन्तरिक मिलेमतोको आशंका गरिएको छ।

फरार कैदीहरूमा हत्या, बलात्कार, लागुऔषध कारोबार, अपहरण र संगठित अपराधमा संलग्न व्यक्ति रहेको पुष्टि भएसँगै सर्वसाधारण त्रासमा परेका छन्। नागरिकहरूले प्रहरीको सहयोगबिना आफैं चोकचौतारोमा निगरानी राख्न थालेका दृश्यहरू देशका विभिन्न ठाउँबाट देखिएका छन्।

गृह मन्त्रालय, प्रहरी मुख्यालय र कारागार प्रशासन तीनै तहबाट ठोस जानकारी नआउँदा आम जनतामा भ्रम र भय फैलिएको छ। यत्तिधेरै संख्या फरार हुनु केवल सुरक्षाको कमजोरी होइन, राज्य व्यवस्थाभित्रैको कमजोरीको घोतक बनेको छ। कतिपय विश्लेषकहरूले यस घटनालाई हालको राजनीतिक अन्यौल, प्रशासनिक असक्षमता र संगठित अपराध सञ्जालबीचको गहिरो सम्बन्धको परिणामका रूपमा व्याख्या गरेका छन्।

यस घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले पनि गम्भीर चासो व्यक्त गर्दै राज्यलाई तत्काल प्रतिवेदन सार्वजनिक गर्न, आमजनताको सुरक्षाको प्रत्याभूति दिन र दोषीमाथि कठोर कारबाही गर्न माग गरेको छ। आयोगका अनुसार फरार कैदीहरूको कारण सर्वसाधारणको जीवन र स्वतन्त्रता नै खतरामा परेको छ।

प्रहरी प्रशासनले देशभर सर्च अपरेशन तीव्र बनाएको दाबी गरेको छ भने सीमाना, मुख्य सडक र संवेदनशील क्षेत्रहरूमा कडाइ गरिएको जनाएको छ। हालसम्म करिब ७ सय कैदी पुनः नियन्त्रणमा लिइएको जानकारी आए पनि बाँकीको खोजी कार्य चुनौतीपूर्ण भइरहेको छ।

१३ हजारजना सजाय भोगिरहेका अपराधीहरू एकैपटक देशभरबाट फरार हुनु इतिहासमै पहिलोपटक भएको गम्भीर घटना हो। यसले केवल सुरक्षामाथि होइन, राज्यकै अस्तित्वमाथि गहिरो खतरा पैदा गरेको छ। आमनागरिक असहाय छन्, प्रशासन मौन छ, र राज्य असहज स्थितिमा फसेको छ।

सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी भागे, कुन ठाउँबाट कति कैदी भागे ?

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij