२०८३ साउन १० आइतबार

निहत्था प्रदर्शनकारीमाथि गोली, शान्ति समाज भन्छ– ‘सरकारको नैतिकता सकियो’

ई आर्थिक    सोमबार, भाद्र २३ २०८२
2.7K
Shares
निहत्था प्रदर्शनकारीमाथि गोली, शान्ति समाज भन्छ– ‘सरकारको नैतिकता सकियो’

ई-आर्थिक, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा जेन जि नामक युवा अभियानद्वारा आह्वान गरिएको देशव्यापी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने पत्रकारसहित दर्जनौं घाइते भएका छन्। भदौ २३ गतेको यस घटनाले मुलुकभर शोक, आक्रोश र विरोधको लहर फैलिएको छ।

प्रदर्शनमा सहभागी युवा पुस्ता सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार र दमनकारी शासनशैलीको विरोधमा सडकमा उत्रिएका थिए। उनीहरूले सुशासन, पारदर्शिता र स्वतन्त्रताको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए। तर, प्रदर्शनलाई विघटन गर्न सुरक्षाकर्मीहरूले अश्रुग्यास प्रहारसँगै गोली चलाएका थिए।

यस घटनापछि मानव अधिकार तथा शान्ति समाजले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख र आक्रोश व्यक्त गरेको छ। शान्ति समाजले निहत्था नागरिकमाथि अन्धाधुन्ध गोली चलाउनु क्रूर, बर्बर र जघन्य अपराध भएको भन्दै त्यसको कडा शब्दमा निन्दा गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “आफ्नै भ्रष्टाचार ढाकछोप गर्न नागरिकमाथि गोली चलाउने सरकार लोकतान्त्रिक हुन सक्दैन। यस्तो क्रुर व्यवहार गर्ने सरकारले नैतिक वैधानिकता गुमाइसकेको छ।” शान्ति समाजले दोषीलाई तुरुन्त चिनिने र कानुनी कारबाही गर्न माग गरेको छ।

शान्ति समाजको धारणा छ कि स्वाभिमानी युवापुस्ता अब भ्रष्ट नेताहरूको नेतृत्व स्वीकार्न तयार छैन। उनीहरू सुशासन, स्वतन्त्रता र जवाफदेहिताको पक्षमा उभिएका छन्। त्यसैले देशव्यापी रूपमा उठेका यस्ता आवाजलाई बन्दुकको नालबाट थुन्ने प्रयास झनै खतरनाक हुनेछ।

शान्ति समाजले आन्दोलनलाई अझ शान्तिपूर्ण, संयमित र अनुशासित ढंगले अघि बढाउन आग्रह गर्दै यस्तो नागरिक अभियानमाथि कुनै पनि किसिमको दमन स्वीकार्य नहुने स्पष्ट पारेको छ। आन्दोलनकर्ताहरूले पनि अराजकता र तोडफोडबाट टाढा रहनुपर्ने भन्दै लोकतान्त्रिक अभ्यासको मर्यादा कायम राख्न सुझाव दिइएको छ।

यो घटनाले मुलुकको शासनप्रणाली, सुरक्षानीति र नागरिक अधिकारप्रतिको सरकारको दृष्टिकोणप्रति गम्भीर प्रश्न उठाएको छ। नागरिक हक र स्वतन्त्रतामाथि बल प्रयोग गरेर नियन्त्रण गर्न खोज्दा लोकतन्त्र नै धरापमा पर्ने चेतावनी विभिन्न क्षेत्रबाट दिइएको छ।

सरकारको तर्फबाट भने घटनाबारे औपचारिक प्रतिक्रिया आउन बाँकी छ। तर, जनस्तरमा सरकारप्रतिको असन्तोष तीव्र रुपमा बढिरहेको देखिन्छ। अब सरकार दमन होइन, संवादको बाटो रोज्छ कि भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij