ई-आर्थिक, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री दाहालले डिजिटल नेपाल निर्माणको अवधारणा अनुसार इम्बोस्ड नम्बर प्लेट आवश्यक रहेको स्पष्ट पारे।
उनले इम्बोस्ड नम्बर प्लेटका लागि अघिल्ला सरकारका पालामा तीन पटकसम्म सम्झौता भइसकेको जनाउँदै, हालको सरकारले नयाँ सम्झौता नगरेको बताए। यदि यो योजना कार्यान्वयन नगरिएमा निर्माण कम्पनीलाई तीन अर्ब रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने अवस्था आउने उनले चेतावनी दिए।
मन्त्री दाहालका अनुसार हालसम्म ६ लाख ३५ हजार ५४५ थान इम्बोस्ड नम्बर प्लेट छपाइ भइसकेको छ भने ८७ हजार ९८९ सवारीसाधनमा नम्बर प्लेट जडान गरिएको छ।
उनले इम्बोस्ड नम्बर प्रणाली लागू भएपछि सवारीसाधनको स्पष्ट विवरण उपलब्ध हुने, चोरी नियन्त्रण हुने, राजस्व छली रोक्न सकिने र सवारी इजाजतसम्बन्धी विवरण व्यवस्थित हुने जानकारी दिए।
साथै, सवारीको पहिचान संकेत नम्बर प्रविधिका कारण नम्बर प्लेट अंग्रेजी भाषामा राख्नुपर्ने भन्दै यसले अन्तरदेशीय आवागमनमा सहजता ल्याउने धारणा व्यक्त गरे।
उनका अनुसार सरकारले राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्र, जग्गा दर्ताजस्ता सेवाहरू डिजिटल प्रणालीमा रुपान्तरण गरिरहेको सन्दर्भमा यातायात क्षेत्रलाई पनि डिजिटल प्रणालीमा लैजानुपर्ने आवश्यकता देखिएको छ।