ई-आर्थिक, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका नक्कली कर्मचारी बनेर व्यक्तिलाई धम्क्याई ठगी गर्ने प्रयासमा संलग्न दुई जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१४, कलंकीबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूमा डोटी घर भइ कीर्तिपुर नगरपालिका–८ बस्ने २७ वर्षीय लक्ष्मण पनेरू र झापा घर भइ काठमाडौं महानगरपालिका–४, सुकेधारा बस्ने ५४ वर्षीय विनोद साह रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले टोखा नगरपालिका–८ बस्ने एक पीडितलाई “तपाईं र तपाईंको परिवारको नागरिकता नक्कली भएको सूचना पाएका छौं” भन्दै अनुसन्धानको नाममा डर त्रास देखाउँदै करोड रुपैयाँ माग गरेका थिए। मागिएको रकम नदिए जेल हाल्ने धम्कीसमेत दिएका थिए।
प्रहरीले उनीहरूको साथबाट नगद २ लाख रुपैयाँ, ४ थान मोबाइल र १ थान सवारी साधन बरामद गरेको छ। घटनासम्बन्धी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।
प्रहरीले यस्ता किसिमका ठगी प्रयासबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।