२०८३ साउन ९ शनिबार

दैलेखमा मिथेन ग्यास उत्खननको तयारी तीव्र, स्थलगत अध्ययनमा प्राविधिक समिति सक्रिय

ई आर्थिक    बुधबार, भाद्र १८ २०८२
2.4K
Shares
दैलेखमा मिथेन ग्यास उत्खननको तयारी तीव्र, स्थलगत अध्ययनमा प्राविधिक समिति सक्रिय

दैलेख : दैलेखको जलजले क्षेत्रमा सतहमै पत्ता लागेको मिथेन ग्यासको उत्खनन, प्रशोधन र उपयोगका लागि तयारी कार्य तीव्र पारिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा गठित प्राविधिक समितिले ग्यास उत्खननको सम्भाव्यता अध्ययन गर्दै स्थलगत निरीक्षण गरेको छ।

नेपाल आयल निगमको इन्जिनियरिङ परियोजना विभागका निर्देशक विनितमणि उपाध्यायको नेतृत्वमा गठन गरिएको समितिले मिथेन ग्यासको परीक्षण उत्पादन, प्रशोधन प्रक्रिया, ढुवानी र उपयोगका विषयमा आर्थिक तथा प्राविधिक पक्षको मूल्याङ्कन गरिरहेको छ। समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

समितिमा खानी तथा भूगर्भ विभागका जिओलोजिस्ट धर्मराज खड्का, पेट्रोलियम अन्वेषण परियोजनाका मनिष कर्ण, नेपाल आयल निगमका केमिकल इन्जिनियर दीप्ति पौड्याल र मेकानिकल इन्जिनियर भक्त भण्डारी समेत रहेका छन्।

समितिका सदस्य तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार परीक्षण उत्पादनपछि ग्यासलाई मल कारखाना तथा अन्य उद्योगहरूमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा सुझाव दिन अध्ययन भइरहेको छ।

“चीनको जिओलोजिकल सर्भेले प्रारम्भिक रुपमा जलजले क्षेत्रमा ११२ अर्ब घनमिटर मिथेन ग्यास रहेको प्रतिवेदन दिएको छ। यद्यपि, अन्तिम प्रतिवेदन आउनुअघि नै पूर्वाधार निर्माणका लागि आवश्यक प्राविधिक तयारी गरिँदैछ,” खड्काले जानकारी दिनुभयो।

ग्यास उत्खनन र प्रशोधनका लागि विस्तृत योजना तयार पार्नुपर्ने भएकाले स्थलगत अध्ययनलाई प्राथमिकता दिइएको जनाइएको छ। अन्तिम प्रतिवेदन प्राप्त भएलगत्तै विस्तृत डिजाइन, प्रशोधन प्लान्ट, ढुवानी प्रणाली र वितरण मोडेल तय गरी कार्यान्वयन सुरु गरिनेछ।

पेट्रोलियम अन्वेषण परियोजनाका अनुसार चीनसँग हाल अन्वेषणमा भइरहेको सहकार्यलाई उत्पादन तहमा पनि आर्थिक तथा प्राविधिक साझेदारीमा विस्तार गर्न आग्रह गरिएको छ। खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेशकुमार नापितका अनुसार सरकारले पठाएको प्रस्तावको जवाफ चीनबाट आउन बाँकी छ।

चिनियाँ सरकारी कम्पनीले गरेको प्रारम्भिक अध्ययनपछि नेपाल सरकारले मिथेन ग्यास परीक्षण उत्पादनका लागि गम्भीर तयारी थालेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सम्बन्धित निकायलाई आगामी मङ्सिरभित्र परीक्षण उत्पादनको पूर्वतयारी पूरा गर्न निर्देशन दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij