२०८३ साउन ९ शनिबार

कागेश्वरीमा कागेअष्टमी मेला सम्पन्न

ई आर्थिक    आइतबार, भाद्र १५ २०८२
2.1K
Shares
कागेश्वरीमा कागेअष्टमी मेला सम्पन्न

ई-आर्थिक, काठमाडौं ।   कागेश्वरी मनोहरा नगरपालिका–१, गागलस्थित प्राचीन धार्मिक स्थल कागेश्वरी क्षेत्रमा आज कागेअष्टमी मेला तथा  जात्रा श्रद्धा, भक्ति र उल्लासका साथ सम्पन्न भएको छ। हिन्दु, बोन, बौद्ध र तान्त्रिक परम्पराको संगमस्थल मानिने यस क्षेत्रमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।

कागलाई पूर्वजको दूतका रूपमा मानिने धार्मिक विश्वासअनुसार यो पर्वमा विशेषगरी कागलाई पूजा गर्ने परम्परा रहेको छ। भक्तजनहरू कागेश्वरी माताको दर्शन, पूजा, होम र ध्यानमा संलग्न भई धार्मिक आस्थापूर्वक सहभागी भएका थिए।

कागेश्वरी क्षेत्रलाई हिन्दु धर्ममा कागेश्वरी माता र तान्त्रिक साधनासँग जोडिने शक्तिक्षेत्रका रूपमा लिइन्छ। बोन परम्परा अनुसार पनि यस क्षेत्रलाई शक्तिशाली स्थल मानिन्छ भने बौद्ध धर्ममा ध्यान, करुणा र प्रज्ञाको केन्द्रका रूपमा सम्मान गरिन्छ। यहाँ तान्त्रिक परम्परामा उल्लेखित दशमहाविद्याहरू मध्ये एक, धूमावती (दुम्मावती) देवीको मन्दिर रहेको छ, जसलाई अनित्यता, वैराग्य र आध्यात्मिक परिष्कारको प्रतीक मानिन्छ।

कागेअष्टमी पर्वले मानिस, प्रकृति र पशुपंक्षीबीचको सम्बन्धमाथि चेतना जगाउने कार्य गर्दै आएको छ। कागको पूजा गर्नु भनेको कर्म, संस्कार र संस्कृति प्रतिको श्रद्धा प्रकट गर्नु हो भन्ने मान्यता रहेको छ।

जात्राका अवसरमा स्थानीय समुदायले विविध सांस्कृतिक र धार्मिक गतिविधिको आयोजना गरेका छन्। स्थानीयबासी, श्रद्धालु तथा पाहुनाहरूको सहभागिताले मेला तथा जात्रालाई भव्य बनाएको छ। यस पर्वले धार्मिक आस्था मात्र होइन, सांस्कृतिक सम्पदा संरक्षण र सामाजिक एकता प्रवर्द्धनमा समेत योगदान पुर्‍याउँदै आएको जनाइएको छ।

कागेश्वरी क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई ध्यानमा राख्दै यसको संरक्षण, प्रवर्द्धन र दिगो विकासका लागि स्थानीय तथा सम्बन्धित निकायहरूलाई थप सक्रिय हुनुपर्ने स्थानीयवासीहरूको माग रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij