ई-आर्थिक, कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर क्षेत्रीय कार्यालयले सुदूरपश्चिम प्रदेशभरि परेको ६४ वटा उजुरीमा विस्तृत अनुसन्धान थालेको छ।
आयोगका सूचना अधिकारी चेतराज भट्टका अनुसार, गत आर्थिक वर्षमा कञ्चनपुर कार्यालयमा कुल १६९६ उजुरी परेका थिए। ती मध्ये ४८९ उजुरी अघिल्लो आवको जिम्मेवारी सरेका हुन् भने ११९८ नयाँ दर्ता भएका उजुरी हुन्। कैलालीबाट सबैभन्दा बढी ४०४ उजुरी परेको छ भने डडेल्धुराबाट सबैभन्दा कम ११० उजुरी दर्ता भएको छ। कञ्चनपुरमा २४६, अछाम २१०, बाजुरा १९५, बझाङ ११७, डोटी १०४, बैतडी १६१ र दार्चुला १४९ उजुरी परेको आयोगले जनाएको छ।
उजुरीमध्ये करिब ५० प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन्। अहिलेसम्म अछाम र बैतडीमा १३-१३ उजुरीमा विस्तृत अनुसन्धान भइरहेको छ भने बाजुरा, बझाङ र कञ्चनपुरमा समान ६ वटा उजुरीमा अनुसन्धान चलिरहेको छ। कैलालीमा ९, दार्चुला ७, डोटी ३ र डडेल्धुरामा १ उजुरीमा पनि छानबिन भइरहेको छ।
अख्तियारले प्रारम्भिक अनुसन्धान र स्क्रिनिङबाट १२३४ उजुरी फर्छ्यौट गरेको छ भने ७३५ उजुरी तामेलीमा पठाएको छ। साथै २६० उजुरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको र १७२ उजुरी अन्यमा गाभिएको छ।