ई-आर्थिक, झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा पूर्वी नाका काँकरभिट्टाबाट तीन अर्ब ६९ करोड ४० लाख रुपैयाँ मूल्य बराबरको मालवस्तु आयात गरिएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ करोड दुई लाख रुपैयाँले कम हो।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार, अघिल्लो वर्ष साउन महिनामा तीन अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।
निर्याततर्फ पनि चालु आवको साउन महिनामा कमी आएको छ। भन्सार कार्यालयका अनुसार यस वर्ष साउनमा एक अर्ब ५४ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरिएको छ, जुन गत वर्षको एक अर्ब ८० करोड ८२ लाख रुपैयाँको तुलनामा घटेको हो।
यद्यपि, आयात र निर्यात दुबै घटेको अवस्थामा पनि राजस्व संकलनमा वृद्धि भएको छ। साउन महिनामा मेची भन्सार कार्यालयमार्फत एक अर्ब २६ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको एक अर्ब ११ करोड ३२ लाख रुपैयाँभन्दा १५ करोड १८ लाख रुपैयाँले बढी हो।