काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा देश आर्थिक संकटमा फसेको र अहिले केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि अर्थतन्त्र पुनः लयमा फर्किएको दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पोखरेलले पूर्वप्रधानमन्त्री प्रचण्डको कार्यकालमा देश ओरालो लागेको टिप्पणी गरे। उनले भने, “प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षक र कर्मचारीले तलब नपाउने अवस्था थियो, राजस्व संकलन घटेको थियो, निर्माण व्यवसायीले कामको भुक्तानी पाएका थिएनन् र उद्योगधन्दा बन्द हुने स्थितिमा पुगेका थिए।”
उनका अनुसार, त्यसबेला देश गम्भीर आर्थिक मन्दीमा पुगेको थियो। तर अहिलेको सरकार गठनपछि अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको भन्दै उनले भने, “राजस्व बढेको छ, सरकारको खर्च गर्ने क्षमता बढेको छ, शिक्षक र कर्मचारीलाई तलबको चिन्ता गर्नुपर्ने अवस्था छैन।”
पोखरेलले कांग्रेस–एमालेको नेतृत्वमा अघि सारिएको नीतिगत सुधारले निजी क्षेत्रलाई उत्साहित बनाएको र लगानीमैत्री वातावरण निर्माण भएको दाबीसमेत गरे। उनका अनुसार, अहिले व्यवसायीहरू प्रेरित भएर पुनः लगानीमा सक्रिय भएका छन्।
उनले थपे, “अब देशले सही दिशा लिएको छ, चिन्ता गर्नुपर्ने अवस्था छैन।”