ई-आर्थिक, तनहुँ । आर्थिक वर्ष २०८१/८२ मा तनहुँ जिल्लामा दूध उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो वर्ष ३७ लाख ९२८ मेट्रिकटन दूध उत्पादन भएकोमा गत आर्थिक वर्षमा ३८ लाख ६७० मेट्रिकटन उत्पादन पुगेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख र वरिष्ठ मत्स्य विकास अधिकृत रबिनसन अधिकारीले जानकारी दिए।
उनका अनुसार, उत्पादन वृद्धिमा किसानलाई दिइएको प्रतिलिटर तीन रुपैयाँ अनुदानको प्रत्यक्ष प्रभाव परेको छ। अनुदानले गर्दा व्यवसायिक पशुपालनप्रति किसानको आकर्षण बढेको छ। “दुधालु गाईको संख्या अघिल्लो वर्ष १३ हजार ६१० थियो भने हाल १३ हजार ६३८ पुगेको छ। यस्तै, भैँसीको संख्या २० हजार ६५० बाट बढेर २१ हजार २४२ पुगेको छ,” उनले भने।
जिल्लाका ११ सहकारी संस्थामार्फत ३२ लाख ४७ हजार १७८ मेट्रिकटन दूध बिक्री भएको छ। यस क्रममा प्रतिलिटर तीन रुपैयाँको दरले दिइएको अनुदानमा ९७ लाख ४१ हजार ५३४ रुपैयाँ खर्च भएको छ।
वरिष्ठ अधिकृत अधिकारीका अनुसार तनहुँ अब दूध, मासु र अण्डा उत्पादनमा आत्मनिर्भर बनेको छ र बाह्य जिल्लामा समेत बिक्री वितरण गर्न थालिएको छ।
जिल्लाको कुल ८८ हजार ५८३ परिवारमध्ये ५८ हजार ५९५ परिवार कृषि पेशामा संलग्न छन् भने ४९ हजार ६४० परिवार पशुपालनमा आबद्ध छन्। यो संख्या कुल घरधुरीको ५६ प्रतिशत हो।
त्यस्तै, जिल्लामा पाँच हजार ३७ गाई, चार हजार ४१७ भैँसी, ७६ बाख्रा र २२ बंगुरमा कृत्रिम गर्भाधान गरिएको छ।