ई-आर्थिक, म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने प्रमुख मार्गहरू बेनी–जोमसोम र बेनी–दरबाङ सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
रघुगंगा गाउँपालिका–२ माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर, र वडा नं. ७ महभिरमा खसेको पहिरोले करिब ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकखण्डको म्याग्दी भाग अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै, बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा खसेको ठूलो पहिरोले मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकसमेत पूर्ण रूपमा ठप्प बनेको छ।
सडक अबरुद्ध भएपछि सदरमुकाम बेनीबाट ग्रामीण क्षेत्रतर्फको सम्पर्क विच्छेद भएको छ भने जनजीवनमा समेत गम्भीर असर परेको छ। विद्यालय, स्वास्थ्य सेवा, आपत्कालीन आवतजावत तथा उपभोग्य वस्तु आपूर्तिमा समस्या देखिन थालेको छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख विशाल दर्जीका अनुसार सडक विभागको डोजर प्रयोग गरेर बेनी–जोमसोम मार्ग र पूर्वाधार विकास कार्यालयमार्फत बेनी–दरबाङ सडक खुलाउने प्रयास जारी रहेको छ।