२०८३ साउन १० आइतबार

काठमाडौंको सिभिल मलबाट ६ थान नक्कली पेस्तोलसहित एक जना पक्राउ

ई आर्थिक    शुक्रबार, भाद्र ६ २०८२
2.5K
Shares
काठमाडौंको सिभिल मलबाट ६ थान नक्कली पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं : राजधानीको सिभिल मलबाट सक्कली झैं देखिने नक्कली पेस्तोलसहित एक जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा प्रहरीले गरेको छानबिनपछि उक्त बरामदगी भएको हो।

प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–११, सुन्धारास्थित सिभिल मलको पाँचौं तलामा रहेको ‘द ट्वय स्टोर इन्टरप्राइजेज’ नामक खेलौना पसलमा खानतलासी गरेको थियो। उक्त पसल धादिङको निलकण्ठ–३ स्थायी घर भई हाल बसुन्धरामा बसोबास गर्दै आएकी सन्तोषी श्रेष्ठको नाममा दर्ता रहेको र प्रकाश श्रेष्ठद्वारा सञ्चालन भइरहेको खुलेको छ।

खानतलासीको क्रममा प्रहरीले सक्कली हतियारसँग मिल्दोजुल्दो ६ थान मेटालिक पेस्तोल बरामद गरेको जनाएको छ। तीमध्ये एक थान चाइनिज ७७ मोडलको पेस्तोलको तौल ६७५.२१ ग्राम रहेको छ भने बाँकी पाँच थान ‘Made in Germany’ लेखिएको बेरेट्टा मोडलको पेस्तोलको तौल प्रतिवटा ६१५.१३ ग्राम रहेको प्रहरीले जानकारी दिएको छ।

सोही क्रममा प्रहरीको कार्यमा अवरोध गर्दै अभद्र व्यवहार गर्ने ३१ वर्षीय सुरज मगरलाई समेत नियन्त्रणमा लिइएको छ। उनी काभ्रेको रोशी गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौंको कलंकीमा बसोबास गर्दै आएका थिए। उनलाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको छ।

काठमाडौं उपत्यकामा यस्ता नक्कली हतियार प्रयोग गरी विगतमा चोरी, डकैती तथा लुटपाटका घटनाहरू भइरहेका सन्दर्भमा प्रहरीले यस्ता हतियारको विक्री–वितरण नियन्त्रण गर्न अभियान सञ्चालन गरिरहेको जनाएको छ। बरामद हतियार र पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij