२०८३ साउन १२ मंगलबार

जलजलाको खोलाखेतमा सडक कालोपत्र सुरु, छ वडाका स्थानीय लाभान्वित हुने

ई आर्थिक    बुधबार, भाद्र ४ २०८२
3.3K
Shares
जलजलाको खोलाखेतमा सडक कालोपत्र सुरु, छ वडाका स्थानीय लाभान्वित हुने

ई-आर्थिक, पर्वत । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकदेखि वडा नं ६ शालिजा जोड्ने मिलनचोक–खोलाखेत–धौलापहरा–शालिजा सडकखण्डअन्तर्गत वडा नं ४ खोलाखेतमा सडक कालोपत्रको काम सुरु भएको छ।

सडक डिभिजन कार्यालय पोखराले गत आर्थिक वर्षको वैशाखमा दुई खण्डमा ठेक्का दिएर लुङ्दीखोला मोटरेबल पुलदेखि खोलाखेत खेलमैदानसम्मको सडक स्तरोन्नति सुरु गरेको हो। सङ्घीय सरकारले विनियोजन गरेको पाँच करोड १५ लाख रुपैयाँको लागतमा सडक निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ।

निर्माणको जिम्मा पाएको माछापुच्छ्रे निर्माण सेवाले पहिलो खण्डअन्तर्गत सडक फराकिलो पार्ने, ग्रेड सुधार, नाली, टेवा पर्खाल निर्माण लगायतका संरचना सम्पन्न गरिसकेको छ। अहिले करिब ७४० मिटर सडकमा कालोपत्र गर्न प्राइम कोट (बिटुमिन) बिछ्याउने काम थालिएको सडक डिभिजन कार्यालय पोखराका इञ्जिनियर लोकेश पौडेलले जानकारी दिए। उनका अनुसार मौसम अनुकूल भएमा १० देखि १५ दिनभित्र कालोपत्र सम्पन्न हुनेछ।

दोस्रो खण्डको काम पनि तीव्र गतिमा भइरहेको निर्माण व्यवसायी कलाधर आचार्यले बताए। उनका अनुसार असोज महिनाभित्र दोस्रो खण्डको काम पनि सम्पन्न गर्ने लक्ष्य छ।

सडक सुधार भएपछि जलजला गाउँपालिकाका वडाहरू ४, ५, ६, ७ का साथै छिमेकी जिल्ला म्याग्दीको नागी क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन्। यस सडकमार्गले वर्षैभर यातायात सेवा सञ्चालन हुने वातावरण बनाउनेछ।

वडाध्यक्ष भरत क्षेत्रीका अनुसार कच्ची, साँघुरो र जीर्ण सडकका कारण स्थानीयवासीले वर्षौंदेखि कृषि उपज बजारसम्म पुर्‍याउन कठिनाइ भोग्दै आएका थिए। उनले भने, “सडक स्तरोन्नतिका लागि थप बजेट आएपछि स्थानीयवासीमा उत्साह बढेको छ।”

दुई दशकअघि ट्रयाक खोलिएको भए पनि उचित स्तरोन्नति नभएकाले सडक उपयोगमा कठिनाइ थियो। तर अहिले यस सडकखण्डको स्तरोन्नति तथा कालोपत्रले खोलाखेत, रातामाटा, लेखफाँट, भोटेडाँडा, शालिजा, ठोट्नेरी लगायतका बस्तीहरूमा सहज यातायात पु¥याउने अपेक्षा गरिएको छ।

पछिल्लो चरणमा मिलनचोकदेखि लुङ्दीखोलासम्मको खण्ड प्रदेश सरकारको बजेटबाट कालोपत्र भइसकेको छ। बाँकी खण्डको स्तरोन्नति आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij