काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्र काठमाडौं उपत्यका र पोखरामा फाइभजी (5G) सेवा सुरु हुने घोषणा गरेका छन्।
आइतबार राजधानीमा आयोजित ‘तामाङ मिडिया अवार्ड २०८२’ वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकारले तीव्र गतिको इन्टरनेट सेवा विस्तारलाई प्राथमिकता दिइरहेको बताए।
प्रधानमन्त्रीसँगको कार्यसम्पादन सम्झौतामै 5G समेटिएको
मन्त्री गुरुङले प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौतामा माघ महिनाभित्र फाइभजी सुरु गर्ने उल्लेख भएको जानकारी दिँदै भने,
“अस्ति प्रधानमन्त्रीसँग भएको मेरो कार्यसम्पादन सम्झौतामा माघ महिनाभित्र तपाईंले फाइभजी लन्च गर्नुपर्छ भन्ने उल्लेख छ। त्यसैले म काठमाडौं उपत्यका र पोखरामा माघभित्र 5G लन्च गर्छु।”
परीक्षणपछि अन्य सहरमा विस्तार
उनका अनुसार, सुरुमा काठमाडौं र पोखरामा परीक्षणको रूपमा 5G सेवा सुरु गरिनेछ। परीक्षणको नतिजा सकारात्मक आएमा क्रमशः अन्य महानगर र प्रमुख शहरहरूमा सेवा विस्तार गरिने योजना रहेको मन्त्री गुरुङले बताए।
5G ले एआई प्रवर्द्धनमा पनि सहयोग
मन्त्री गुरुङका अनुसार, 5G सेवा फोरजी (4G) भन्दा दोब्बर छिटो र गुणस्तरीय हुनेछ। यसले आर्टिफिसियल इन्टेलिजेन्स (AI) को विकास, सञ्चालन र उपयोगमा समेत सहजता ल्याउने विश्वास उनले व्यक्त गरे।
उनले भने,
“हामी फाइभजीमा पुग्न लाग्दा संसार सिक्सजी (6G) को तयारीमा लागिसकेको छ। अब ढिला नगरी हामी पनि प्रविधिमा अगाडि बढ्नुपर्छ।”
नयाँ दूरसञ्चार ऐन आउने तयारी
कार्यक्रममा मन्त्री गुरुङले नेपालको दूरसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न नयाँ दूरसञ्चार ऐन ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको जानकारी दिए। उनले नेपालले प्रविधिको तीव्र गतिसँग समायोजन गर्दै डिजिटल युगमा आफूलाई अझ प्रभावकारी रूपमा अगाडि लैजानुपर्नेमा जोड दिए।