ई-आर्थिक, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरेका छन् । समारोहका क्रममा प्रधानमन्त्री ओलीले भवनको अवलोकन गर्नुका साथै निर्माणमा योगदान पुर्याउने व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गरेका हुन्
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न योगदान दिने मधेश प्रदेश सरकार र सरोकारवालाहरूको प्रशंसा गरे। उनले यो भवन सञ्चालनमा आएसँगै प्रहरी सेवा छिटो, छरितो र व्यवस्थित हुने विश्वास व्यक्त गर्दै जनसेवामा थप प्रभावकारिता आउने बताए
प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै, “समाजमा सेवा गर्ने भावनाका साथ काम गर्नुपर्छ, आफू ठूलो पदमा छु भन्दा पनि जनताको सेवक हुँ भन्ने सोचका साथ अघि बढ्नुपर्छ,” भन्ने धारणा व्यक्त गरे ।
उनले लागूऔषध कारोबार, खुला सीमाको दुरुपयोग, अराजक गतिविधि र आपराधिक कार्यहरू नियन्त्रणमा प्रहरीलाई अझ सक्रिय हुन निर्देशन दिनुभयो। साथै, राजस्व चुहावट र तस्करी नियन्त्रणमा पनि प्रहरीलाई सशक्त र प्रभावकारी ढंगले काम गर्नुपर्नेमा जोड दिए ।
समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रहरीको अपराध नियन्त्रणमा रहेको भूमिकाको चर्चा गर्दै नवनिर्मित भवनले आम नागरिकलाई सेवा लिन थप सहजता ल्याउने विश्वास व्यक्त गरे ।
प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहमा नेपाल प्रहरी सधैं कटिबद्ध रहेको बताउँदै सबै सरोकारवालासँग सहकार्य गरी प्रभावकारी रूपमा कार्य गर्न निर्देशन दिए ।
कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
यस भवनको निर्माण मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालय जनकपुरधामको बजेटबाट कुल लागत २३ करोड ५४ लाख ८८ हजार ९११ रूपैयाँ ४१ पैसामा सम्पन्न भएको हो।
समारोहमा मधेश प्रदेशका सभामुख, मन्त्रीहरू, संघीय र प्रदेश सांसदहरू, प्रमुख सचिव, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, स्थानीय जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।