ई-आर्थिक, महोत्तरी। लामो समयसम्म वर्षा नहुनुका कारण धान रोपाइँ सुरु गर्न नसकेका महोत्तरीका किसानले हालसम्म जिल्लाको ७० प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न गरेका छन्।
साउनको दोस्रो सातासम्म पनि पानी नपरेर खडेरीको अवस्था सिर्जना भइसकेको थियो। तर साउन १५ पछि लगातार ३–४ दिन वर्षा भएपछि किसानले एकैचोटि धमाधम रोपाइँ सुरु गरेका हुन्। कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्द रायका अनुसार वर्षाको फाइदा उठाउँदै किसानहरूले ढिलो भए पनि धान लगाइसकेका छन्।
महोत्तरीमा ७१ हजार ५७० हेक्टर खेतीयोग्य जमिनमध्ये ६४ हजार ९७७ हेक्टरमा वार्षिक रुपमा खेती हुने गरेको छ। यस वर्ष त्यसमध्ये ४० हजार हेक्टर क्षेत्रमा धान खेती हुने अनुमान गरिएको छ।
यस वर्षको असामयिक खडेरीका कारण किसानहरू चिन्तित थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ९ गते मटिहानीको भ्रमणका क्रममा यस क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै ५०० डीप बोरिङ जडान गर्न निर्देशन दिएका थिए। उक्त निरीक्षणको एक सातापछि पानी परेपछि रोपाइँ सुरु भएको हो।
जिल्लाको पश्चिमोत्तर क्षेत्रमा केही किसानले पम्पसेट, इनार, नदी, नालाको सहायताबाट केही रोपाइँ गरे पनि बहुसंख्यक किसानले वर्षाको पर्खाइ गरेका थिए। पानी परेपछि बुढो भइसकेका बेर्ना रोप्न सकिएको र किसानले राहत महसुस गरेको प्रमुख रायले जानकारी दिए।
उनका अनुसार किसानहरूले भदैया, हर्दिनाथ, मुसलिम, कतरनी, बासमतीजस्ता धानका जात रोपेका छन्। अझै पनि केही पालिकाका बस्तीमा रोपाइँ जारी रहेकाले यो प्रतिशत अझै बढ्ने अनुमान गरिएको छ।
गत वर्ष समयमा वर्षा भएकोले ४२ हजार ५०० हेक्टर क्षेत्रमा धानखेती भई १ लाख ५० हजार ८०० मेट्रिक टन उत्पादन भएको थियो। तर, यस वर्ष ढिलो रोपाइँका कारण उत्पादनमा कमी आउने सम्भावना रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।