२०८३ साउन ९ शनिबार

लोडसेडिङ पुनरावृत्तिको सम्भावना छैन: मन्त्री खड्का

ई आर्थिक    बुधबार, साउन २८ २०८२
5.1K
Shares
लोडसेडिङ पुनरावृत्तिको सम्भावना छैन: मन्त्री खड्का

ई-आर्थिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल अब लोडसेडिङ मुक्त भइसकेको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले लोडसेडिङबारे भइरहेका हल्लालाई पूर्ण रूपमा निराधार र निरर्थक बताएका हुन्।

“नेपालले विद्युत् उत्पादन, आपूर्ति र वितरणमा उल्लेखनीय सफलता हासिल गरिसकेको छ,” मन्त्री खड्काले भने, “लोडसेडिङ अब विगतको कुरा हो, यसको पुनरावृत्ति हुने कुनै सम्भावना छैन।”

उनका अनुसार देशभर अहिले नियमित रूपमा विद्युत् आपूर्ति भइरहेको छ भने कतिपय स्थानमा देखिएका अस्थायी समस्या प्रणालीगत सुधारमार्फत समाधान भइरहेका छन्। उनले भारत र बंगलादेशमा विद्युत् निर्यात भइरहेकाले अब विद्युत् अभाव नभएको बताए।

ऊर्जामन्त्री खड्काका अनुसार, हाल नेपालको विद्युत् जडित क्षमता करिब ३,९०० मेगावाट पुगेको छ। अहिले देशको अधिकतम माग करिब २,४०० मेगावाट मात्रै रहेकाले करिब ९०० मेगावाट विद्युत् भारत निर्यात भइरहेको जानकारी उनले दिए। यसबाहेक ४० मेगावाट बंगलादेशमा पनि निर्यात भइरहेको छ।

उनले भने, “गत वर्ष भारतमा २,३८० गीगावाट र बंगलादेशमा ३० गीगावाट विद्युत् निर्यात गरिएको थियो। त्यसबाट नेपालले झण्डै ५ अर्ब रुपैयाँ मुनाफा गरेको छ।”

मन्त्री खड्काले ऊर्जा क्षेत्रको दीर्घकालीन रणनीति, नीति निर्माण र पूर्वाधार विकासलाई सरकारले निरन्तरता दिइरहेको र मन्त्री वा नेतृत्व परिवर्तनले त्यसमा प्रभाव नपर्ने बताए।

उनका अनुसार, प्रतिव्यक्ति विद्युत् खपत पनि अघिल्लो वर्षको ४०० युनिटबाट बढेर ४६० युनिट पुगेको छ। अब सरकारको ध्यान विद्युत् निर्यात विस्तार, उच्च क्षमताको प्रसारण लाइन निर्माण र दीर्घकालीन ऊर्जा सुरक्षामा केन्द्रित हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij