ई-आर्थिक, मुगु। लगातारको वर्षापछि आएको पहिरोका कारण गमगढी–बालै–पिना सडकखण्ड करीब दुई महिनादेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ। सडकका विभिन्न ठाउँमा माटो र ढुंगा थुप्रिएर आवागमन असम्भव बनेको हो।
केही स्थानमा त सडक नै भासिएकोले पैदल आवागमनसमेत कठिन भएको छ। बाटो अवरुद्ध भएपछि स्थानीय बासिन्दाहरू वैकल्पिक लामो र जोखिमपूर्ण बाटो प्रयोग गर्न बाध्य भएका छन्। खाद्यान्न, औषधि लगायत आवश्यक सामग्रीको ढुवानीमा समेत समस्या देखिएको छ।
स्थानीयवासी दानबहादुर शाहीका अनुसार, “जताततै पहिरो खसेको छ, दलदल माटो बगिरहेको छ, मान्छे हिँड्न पनि सक्दैनन्। तर सडक खुलाउनेतर्फ कसैको ध्यान छैन।”
यसैबीच, गमगढी नगरपालिकाले वर्षा रोकिएपछि पहिरो पन्छाउने तयारी रहेको जनाएको छ। नगरपालिकाका अनुसार, डोजरलगायत उपकरण तयारी अवस्थामा छन् र मौसमले साथ दिएपछि सडक खुलाउने काम सुरु गरिनेछ।