२०८३ साउन १० आइतबार

दाङमा दुई सय ६९ सिँचाइ योजना सम्पन्न, ७६ हजार हेक्टरमा सुविधा विस्तार

ई आर्थिक    सोमबार, साउन २६ २०८२
3.1K
Shares
दाङमा दुई सय ६९ सिँचाइ योजना सम्पन्न, ७६ हजार हेक्टरमा सुविधा विस्तार

ई-आर्थिक, दाङ।  दाङको तुलसीपुरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा कुल २७१ मध्ये २६९ योजना सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यालयका अनुसार योजनाहरूबाट जिल्लाको सिँचाइ पहुँच उल्लेखनीय रूपमा विस्तार भएको छ।

कार्यालय प्रमुख कृष्णबहादुर विकका अनुसार, चालू आर्थिक वर्षमा स्वीकृत ३२ करोड ७३ लाख रुपैयाँ बजेटमध्ये ३१ करोड ८३ लाख ५६ हजार रुपैयाँ खर्च भएको छ। यो कुल बजेटको ९७.२७ प्रतिशत हो।

उनका अनुसार सम्पन्न योजनाहरूमा जल उत्पन्न प्रकोप न्यूनीकरण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत ८७ योजना, सिँचाइ आयोजना मर्मत सुधार तथा विस्तारतर्फ १४५, मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सघन सिँचाइ कार्यक्रमतर्फ ३२ तथा जलाशय निर्माणका पाँच योजना रहेका छन्।

तर, सिँचाइ आयोजनातर्फका दुई योजना भने कार्यान्वयनमा आउन सकेका छैनन्। हाल कार्यालयमार्फत तीनवटा बहुवर्षीय योजना सञ्चालनमा छन् — झिग्नी बबई सिँचाइ योजना (घोराही–३), घारिचौर सिँचाइ योजना (बङ्गलाचुली–७) का लागि ठेक्का सम्झौता भइसकेको छ भने बस्तीखोला सिँचाइ योजना (शान्तिनगर–३ र ४) का लागि बोलपत्र आह्वान गरिएको छ।

कार्यालयले २०७२ सालदेखि हालसम्म १६२ किलोमिटर नहर पक्की बनाइसकेको छ। यसैबीच ६७ वटा लिफ्ट सिँचाइ योजना, ६७ वटा पम्प हाउस, ९.७३ किलोमिटर पाइप लाइनिङ र ४५ वटा सिँचाइ योजनामा विद्युतीकरण कार्य सम्पन्न गरिएको छ।

योजनाहरूबाट थप ७,६३२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको र ३१,५८३ हेक्टरमा सिँचाइ सुविधा सुदृढीकरण गरिएको कार्यालयले जनाएको छ।

यस्तै, कूल ७२.७७ किलोमिटर तटबन्ध तथा नदी नियन्त्रण संरचना निर्माण गरिएको छ। जसबाट १२,५४६ हेक्टर जमिन र ८,६५८ घर सुरक्षित भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

कार्यालयका अनुसार, दाङ जिल्लामा कुल ७५,९९१ हेक्टर कृषि क्षेत्र छ। हालसम्म त्यसको ६०,३६७ हेक्टर अर्थात् २०.४३ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij