ई-आर्थिक, पर्वत । लगातारको वर्षाले पर्वत जिल्लाको मोदी गाउँपालिका–२ स्थित कोरुङ गाउँमा पहिरोको खतरा गम्भीर बन्दै गएको छ। भिरबाट झरिरहेको पहिरो बस्ती नजिक आइपुगेपछि यहाँका पाँच घरधुरी उच्च जोखिममा परेका छन्।
करिब एक दशकअघि पातीचौर–देउपुर–लप्सीबोट सडक निर्माण सुरु भएयता पहिरोको समस्या देखिन थालेको हो। पछिल्ला वर्षहरूमा पहिरोको दर बढ्दै जाँदा अब बस्ती नै संकटमा परेको स्थानीयको भनाइ छ।
पहिरोका कारण स्थानीय टीकाराम जैसीको घर पूर्णरूपमा भत्किएको छ भने कुमार केसीको घर बस्न अयोग्य बन्दै गएको छ। प्रभावित घरपरिवारले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा सर–सामान सुरक्षित स्थानमा सारिसकेका छन्। उनीहरूका लागि अस्थायी टहरा निर्माण गरिएको छ।
स्थानीय बासिन्दा बाबुराम जैसीका अनुसार, पहिरो रोकथामका लागि कुनै प्रभावकारी पहल नभएकाले रातभर जाग्राम बसेर बिताउनुपर्ने अवस्था आएको छ। “वर्षेनी पहिरो झर्छ, तर समाधानका लागि प्रयास भने देखिँदैन,” उनले गुनासो गरे।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक रविन विष्टले बस्तीमा पहिरोको क्रम नरोकिएकाले जुनसुकै बेला ठूलो दुर्घटना हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
गत वर्ष यही पहिरोका कारण गाउँपालिकाको केन्द्रदेखि वडा नं. १, २, ३ र ४ जोड्ने मुख्य सडक तीन महिनासम्म पूर्णरूपमा अवरुद्ध भएको थियो। यस वर्ष पनि कोरुङ खण्डको झण्डै दुई किलोमिटर पक्की सडक क्षतिग्रस्त भई सडक पुनः अवरुद्ध बनेको छ।
वैकल्पिक सडकसमेत मर्मत नभएकाले स्थानीय आवतजावतमा थप सास्ती भोगिरहेका छन्। स्थानीय शिक्षक भूमिराज शर्माका अनुसार, बेतेनी–गौँडा–टापु सडक र नयाँपुल–मख–ठूली पोखरी सडक पनि पहिरोका कारण पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन्।
स्थानीयले अव्यवस्थित सडक निर्माण र वातावरणीय तथा भौगोलिक अवस्था बेवास्ता गर्दा समस्या झनै बढेको बताएका छन्। वर्षायाममा सुरुआत गरिने सडक निर्माण कार्यले पनि पहिरो निम्त्याउने र बस्तीलाई थप जोखिममा पार्ने गरेको जनगुनासो छ।