ई–आर्थिक, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा प्रदेश सरकारको पहलमा एक वर्षको अवधिमा ८० हेक्टर (अन्दाजी १६ सय रोपनी) नयाँ जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ।
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभर पुराना कुलो र बाँधहरूको मर्मतसहित ६७० हेक्टर (१५ हजार रोपनी) जमिनमा सिँचाइ सुविधा पु¥याइएको हो।
कार्यालयले एक वर्षमा १८.३ किमी आरसीसी कुलो, २१.९४ किमी एचडिपीई पाइपबाट सिँचाइ कुलो, र ३.५७ किमी तटबन्ध पर्खाल निर्माण गरेको जनाएको छ। लिफ्ट सिँचाइका लागि एउटा सौर्य ऊर्जा प्रणाली जडानका साथै ५२ वटा सिँचाइ मर्मत कार्य र नदी नियन्त्रण (सालबसाली) अन्तर्गत ४७ योजना पनि सम्पन्न गरिएका छन्।
गत आवमा जिल्लामा प्रदेश सरकारतर्फ ९१ वटा सिँचाइ योजना, ४७ वटा पहिरो तथा नदी व्यवस्थापन योजना, तीन ऊर्जासम्बन्धी योजना र तीन वटा संघीय सशर्त अनुदानअन्तर्गत बहुवर्षीय सिँचाइ योजनाहरू सञ्चालनमा रहेका थिए।
बस्नेतटार लिफ्ट सिँचाइ योजना (पनौती–२), हिले जलजले पर्यटकीय ताल (बनेपा–२), र शिखरटार सिँचाइ योजना (रोसी–३) लगायतका बहुवर्षीय आयोजना सम्पन्न भइसकेको कार्यालयले जानकारी दियो ।
आव २०८२/०८३ का लागि प्रदेश सरकारले काभ्रेपलाञ्चोक जिल्लामा सिँचाइतर्फ १६८ योजना, तटबन्धतर्फ ५७ योजना र ऊर्जातर्फ तीन योजना सञ्चालनका लागि बजेट विनियोजन गरेको छ। संघीय सशर्त अनुदानतर्फका तीन योजनालाई पनि निरन्तरता दिइने भएको छ।
यस वर्ष रोसी खोला नियन्त्रणका लागि संघीय सरकारले चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। गत वर्ष असोजमा रोसी खोलामा आएको बाढीले पनौती, नमोबुद्ध नगरपालिका, रोसी र तेमाल गाउँपालिकामा ठूलो क्षति पुर्याएपछि प्रदेश सरकारले नियन्त्रण कार्यक्रमअन्तर्गत थप बजेट विनियोजन गरेको हो।
रोसी खोला नियन्त्रण कार्यक्रमबाट विपी राजमार्ग क्षेत्रबाहेकका बस्ती र खेतियोग्य जमिन सुरक्षित गरिने भएको छ। कार्यालयका अनुसार त्यसैगरी हालसम्म काभ्रेपलाञ्चोक जिल्लामा ८ हजार हेक्टर (१ लाख ६० हजार रोपनी) जमिनमा सिँचाइ सुविधा विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण भइसकेको छ ।