२०८३ साउन ९ शनिबार

“एआईको प्रयोगले आदिवासीको भविष्य निर्धारण गर्छ” – मन्त्री गुरुङ

ई आर्थिक    आइतबार, साउन २५ २०८२
3.5K
Shares
“एआईको प्रयोगले आदिवासीको भविष्य निर्धारण गर्छ” – मन्त्री गुरुङ

ई-आर्थिक, काठमाडौं ।  संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बदलिँदो प्रविधिको युगमा आदिवासी समुदायले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता आधुनिक प्रविधिहरूलाई आत्मसात गर्नुपर्ने बताएका छन्।

३१औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) द्वारा काठमाडौंमा आयोजित विशेष मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भने, “भोलिको आदिवासीको भविष्य एआईको प्रयोगले निर्धारण गर्छ। हामीले आफ्ना सन्तानलाई समयसँगै चल्ने बनाउनु पर्छ।”

उनले नेपालका आदिवासी जनजातिले धेरै संवैधानिक र कानुनी अधिकार प्राप्त गरे पनि अझै धेरै अधिकार प्राप्त गर्न बाँकी रहेको उल्लेख गरे। “संविधानले मातृभाषालाई राष्ट्रिय भाषाको मान्यता दिएको छ, केही स्थानीय तहमा सरकारी कामकाज मातृभाषामै हुन थालेका छन्,” गुरुङले भने, “तर त्यो पर्याप्त छैन।”

आदिवासीको पहिचान र अधिकार रक्षा आवश्यक

मन्त्री गुरुङका अनुसार आदिवासी जनजातिको पहिचान भाषा, भेषभूषा, संस्कार, संस्कृति र प्रथासँग जोडिएको छ, र यसको संरक्षण नभएमा पहिचान मेटिन सक्छ। “हामीले स्वायत्तता, स्वशासनको अधिकार माग गरेका थियौं। केही हदसम्म प्राप्त भएको भए पनि त्यसको संरक्षण र प्रभावकारी कार्यान्वयन महत्वपूर्ण छ,” उनले जोड दिए।

उनले आदिवासीका पर्वमा दिइने विदा, प्रदेश र स्थानीय तहमा कानुन बनाउने अधिकार, र स्वशासनको सुनिश्चिततालाई सकारात्मक कदम भने पनि अझै विशिष्ट मन्त्रालय र विश्वविद्यालयजस्ता माग पूरा हुन बाँकी रहेको बताए।

ठूला आयोजना र संरक्षण क्षेत्रले विस्थापनको डर

कार्यक्रममा नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले ठूला आयोजना, संरक्षित क्षेत्र र राष्ट्रिय निकुञ्जका नाममा आदिवासी भूमि खोसिएको गुनासो गरे। “हाम्रा चौरी खर्च र भेँडी खर्क लुटिए, थातथलो छाडेर विस्थापित हुनुपर्‍यो,” उनले भने।

उनले संविधान संशोधनमा पहिचान मिच्ने प्रयास भए आदिवासीको समर्थन नरहने चेतावनीसमेत दिए। निजामती, शिक्षा र भूमि सम्बन्धी कानुनहरूमा आदिवासी विरोधी प्रावधान हटाउन महासंघले पहल गरिरहेको जानकारी पनि दिए।

सांस्कृतिक झाँकीसहित दिवस मनाइयो

समारोहमा पूर्वमन्त्रीहरू शेरबहादुर तामाङ, सीता गुरुङ, थममाया थापा मगर, सांसदहरू सुरेश आले मगर, दुर्गा राई, नेफिनका पूर्व अध्यक्ष पासाङ शेर्पा, संविधानसभा सदस्य जिपछिरिङ लामा लगायतले आदिवासी अधिकारका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा चुननुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा र आदिवासी जनजाति वकिलहरूको संस्था ‘लाहुर्निप’ लाई विशेष सम्मान प्रदान गरिएको थियो। झाँकी र सांस्कृतिक र्‍यालीसहित दिवस उल्लासपूर्वक मनाइएको थियो।

यस वर्ष “प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर” भन्ने मूल नारासहित विश्व आदिवासी दिवस नेपालमा विविध कार्यक्रमसहित मनाइएको हो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij