काठमाडौं । गाईजात्राको अवसरमा बागमती प्रदेश सरकारले आइतबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै श्रावण २५ गते (आइतबार) का दिन सार्वजनिक बिदा हुने जानकारी गराएको हो।
विशेषगरी काठमाडौं उपत्यकासहित बागमती प्रदेशका विभिन्न क्षेत्रमा गाईजात्रा परम्परागत रूपमा धूमधामका साथ मनाइने गरिन्छ।
गाईजात्रा विशेषगरी दिवंगत आफन्तहरूको सम्झनामा मनाइने नेवारी समुदायको परम्परागत पर्व हो, जसमा विविध सांस्कृतिक झाँकी, नाचगान र व्यंग्यात्मक प्रस्तुतिहरू हुने गर्छन्।
सरकारको निर्णय अनुसार उक्त दिन प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र अन्य निकायहरू बन्द रहने छन्।