ई-आर्थिक, पर्वत । पर्वत जिल्लामा पछिल्लो समय सडक पूर्वाधार विस्तार उल्लेखनीय रूपमा बढिरहेको छ। हालसम्म जिल्लाभर करिब तीन हजार किलोमिटर सडक सञ्जाल फैलिएको छ, जसले सातवटै पालिकाका वडा र टोलसम्म पहुँच पुर्याएको छ। यद्यपि अधिकांश ग्रामीण सडक वर्षायाममा अवरुद्ध हुने समस्या कायमै छ।
गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै जिल्लाभित्र ४५ किलोमिटरभन्दा बढी सडक कालोपत्र तथा ढलान गरिएको छ। संघीय सरकार, गण्डकी प्रदेश र विभिन्न आयोजना तथा कार्यालयहरूको साझेदारीमा यी सडक पक्की बनाइएका हुन्।
सबैभन्दा बढी संघीय सरकार अन्तर्गतको सडक डिभिजन कार्यालय पोखरामार्फत १३ किलोमिटर ६६० मिटर सडक पक्की बनाइएको छ, जसमा १० किलोमिटर ६६१ मिटर कालोपत्र र तीन किलोमिटर आठ मिटर ढलान गरिएको हो।
गण्डकी प्रदेश अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट १५ किलोमिटरको लक्ष्य राखिए पनि १० किलोमिटर ९८ मिटर मात्रै कालोपत्र गर्न सकिएको हो। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय कास्कीमार्फत आठ किलोमिटर २८६ मिटर सडक कालोपत्र गरिएको छ। त्यसमध्ये झन्डै चार किलोमिटर कालोपत्र र चार किलोमिटर ३६२ मिटर ढलान गरिएको हो।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङमार्फत पाँच किलोमिटर २१७ मिटर सडक पक्की गरिएको छ। ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत लुंखुदेउराली–हुवास सडकखण्डमा पनि झन्डै पाँच किलोमिटर कालोपत्र गरिएको छ।
जिल्लाका स्थानीय तहहरूले पनि सडक स्तरोन्नति, कालोपत्र, ढलान, ग्राभेल तथा चौडाइ विस्तार कार्य तीव्र रूपमा अगाडि बढाइरहेका छन्।
पूर्वाधार विकास कार्यालयका अनुसार अघिल्लो वर्ष ३० किलोमिटर सडक कालोपत्र गरिएको थियो। हालसम्म जिल्लाभित्र करिब ३०० किलोमिटर सडक पक्की भइसकेको छ। त्यस्तै, एक दशमलव ३४९ किलोमिटर कच्ची सडक विस्तार, सात दशमलव ३६ किलोमिटर सडक ग्राभेल, २९ किलोमिटर सडक चौडाइ विस्तार, १८ किलोमिटर नाली निर्माण, ४७ हजार ४४८ घनमिटर टेवा पर्खाल, ७६ वटा कल्भर्ट र १० किलोमिटर सडक मर्मतसम्भार गरिएको छ।
गत वर्ष लिदी खोला मोटरेबल पुल निर्माण सम्पन्न भएको छ भने मल्याङ्दी खोला र छत्तिसेघाट मोटरेबल पुल निर्माणाधीन अवस्थामा छन्।
पाँच करोड रुपैयाँभन्दा बढीको लागतमा हिमालय मावि–नुहार–खनियाघाट सडक कालोपत्र गरिएको छ। चार किलोमिटर ८०० मिटर लामो यस सडकमध्ये तीन किलोमिटर कालोपत्र र एक हजार ८०० मिटर ढलान गरिएको हो।
पाँच करोडभन्दा कम लागतका योजनामा फलेवासको उपल्लो बाच्छाचोक–हरेचौपारी सडक निर्माण सम्पन्न भएको छ। अधिकांश साना टुक्रे योजनाहरू पनि सम्पन्न भइसकेका छन्।
गत आर्थिक वर्षमा विनियोजित १३३ मध्ये झन्डै आधा दर्जन आयोजना बजेट दोहोरोपना, अपुग रकम, जग्गा विवाद र मन्त्रालयबाट रोक्का गरिएकाले अघि बढ्न सकेनन्। कार्यालयका इन्जिनियर अर्जुन शर्माका अनुसार, आर्थिक वर्षको अन्त्यसम्म ७५.७७ प्रतिशत वित्तीय र ७८ प्रतिशत भौतिक प्रगति हासिल गरिएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि ७५ वटा सडक स्तरोन्नति योजनामा बजेट विनियोजन भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्ष झन्डै १९ करोड ४५ लाख रुपैयाँले बजेट घटेको छ। चालु आर्थिक वर्षका लागि कुल ६३ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको कार्यालयले जनाएको छ।