ई-आर्थिक, गुल्मी । चन्द्रकोट गाउँपालिका–६ हरेवाकी लीलमाया शर्मा मधुमेह (सुगर) रोगकी बिरामी हुन्। उनी नियमित जाँच र औषधि लिन बुटवलसम्म पुग्न बाध्य छन्। कारण – उनको घरैअगाडि निर्माण भइसकेको १५ शय्याको अस्पताल अझै सञ्चालनमा आउन सकेको छैन।
“घर अगाडि अस्पताल बनेको छ, तर सेवा पाउन अझै बुटवल जानुपर्छ,” लीलमाया भन्छिन्, “जसका लागि समय, पैसा र मेहिनत दुबै खर्चिनुपरेको छ।”
२०७७ मंसिर १५ गते देशभरका ३९६ पालिकामा एकैसाथ ५, १० र १५ शय्याका आधारभूत अस्पतालहरूको शिलान्यास भएको थियो। सोही दिन तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चन्द्रकोट–६ मा १५ शय्याको अस्पतालको शिलान्यास गरेका थिए। १३ करोड ६६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भए पनि अस्पताल अझै सञ्चालनमा आएको छैन।
लीलमायाले उपचार सुविधा नपाउँदा दुःख मात्रै होइन, निराशा पनि महसुस भएको बताउँछिन्। उनले अस्पताल बनाउन निःशुल्क रूपमा चार आना जग्गा समेत दिएकी थिइन्। “अस्पताल नजिकै हुँदा पनि उपचारका लागि टाढा जानु परेको छ, अब त चाँडै सञ्चालनमा आउनुपर्छ,” उनले आग्रह गरिन्।
स्थानीय कुमारबहादुर सार्कीले पनि उपचारका लागि पाल्पा वा बुटवल जानु पर्ने बाध्यता अझै टार्न नसकेको बताए। “यति ठूलो अस्पताल पालिकाले मात्रै सञ्चालन गर्न सक्दैन,” उनले भने, “प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्छ।”
अस्पतालसँगै चिकित्सकहरूका लागि २ तले आवास भवन समेत निर्माण गरिएको छ। चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीका अनुसार, अस्पताल सञ्चालनका लागि चिकित्सकको विज्ञापन खुलाउने गरी बजेट स्वीकृत भइसकेको छ।
तर स्थानीयहरू भने यथाशीघ्र सेवा सुरु होस् भन्ने आशामा चार वर्षदेखि प्रतीक्षारत छन्।