ई-आर्थिक, काठमाडौं । अब सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार बसेको विषयगत समितिको बैठकले आगामी असोज १ गतेदेखि सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य गराउने निर्णय गरेको हो।
निर्णयअनुसार, सबै प्रदेशका यातायात व्यवस्था कार्यालयहरूबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्नेछ। कार्यान्वयनका लागि यातायात व्यवस्था विभागले प्राविधिक सहयोग उपलब्ध गराउनेछ भने, गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी परिचालन गरेर प्रभावकारी अनुगमन गरिनेछ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइसम्बन्धी निर्णय पनि बैठकमा गरिएको छ। सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएको सहमति अनुसार, पहिलो चरणमा लाइसेन्स छपाइ कार्य भदौ मसान्तसम्म सुरू गर्न केन्द्रलाई अनुरोध गरिनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशले आवश्यक खरिद प्रक्रिया अघि बढाइसकेकाले ती प्रदेशहरूमा अनुमति पत्र छपाइ छिटो सुचारु गर्न अनुमति दिन आग्रह गर्ने निर्णय पनि गरिएको छ।
अन्य महत्वपूर्ण निर्णयहरू
१० वर्षे सवारी चालक अनुमति पत्रको राजस्व दरमा एकरुपता कायम गरिने
तथ्यांक डिजिटाइज, भुक्तानी प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गरिने
राइड सेयरिङ सेवाको स्पष्ट कार्यान्वयन ढाँचा तय गरिने
सफ्टवेयर प्रणाली सुधार, बेरुजू फस्र्यौट प्रभावकारी बनाइने
बैठकमा मन्त्री दाहालले संविधान र ऐनमा तोकिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै संघीयता बलियो बनाउन तीनै तहबीच सहकार्य आवश्यक रहेको बताए। नागरिकले छिटो र प्रभावकारी सेवा पाउन सकून् भन्ने उद्देश्यले यी निर्णयहरू कार्यान्वयन गरिने उनको भनाइ थियो।