ई-आर्थिक, काठमाडौं । नबिल बैंक लिमिटेडले “८ वर्षे, ७% नबिल डिबेन्चर, २०८९” को सार्वजनिक निष्कासनको बाँडफाँड साउन १५ गते सम्पन्न गरेको छ।
उक्त डिबेन्चर साउन ६ गतेदेखि सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको थियो भने साउन १० गते बन्द गरिएको थियो। कुल ३० लाख इकाई डिबेन्चर, प्रतिइकाई अंकित मूल्य रू. १,००० मा निष्काशन गरिएको हो। जसअन्तर्गत ६०% अर्थात् १८ लाख इकाई निजी संस्थागत लगानीकर्तामार्फत (Private Placement) बिक्री गरिएको थियो भने बाँकी १२ लाख इकाई, अर्थात् रू. १.२० अर्ब बराबरको डिबेन्चर सर्वसाधारणका लागि खुला गरिएको थियो। यसमध्ये ५% अर्थात् ६०,००० इकाई म्युचुअल फन्डहरूका लागि छुट्याइएको थियो।
“७% नबिल डिबेन्चर २०८९” नाम दिइएको यो डिबेन्चर ८ वर्षे अवधिको हो, जसमा ७.२५% वार्षिक ब्याजदर (कुपन रेट) तोकिएको छ।
उक्त डिबेन्चर निष्कासनको व्यवस्थापन नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडले गरेको हो। यो डिबेन्चर निष्कासनबाट कुल रू. ३ अर्ब पूँजी संकलन गरिएको बैंकले जनाएको छ।