काठमाडौं । बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहे पनि कर्जाको मागमा अपेक्षित सुधार नआएपछि वाणिज्य बैंकहरूले असोज महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्।
असोज महिनाका लागि २० वटा वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार व्यक्तिगत निक्षेपतर्फ बैंकहरूको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशत कायम भएको छ। यो भदौ महिनाको औसत ४.१३६ प्रतिशतको तुलनामा ०.०४६५ प्रतिशत बिन्दुले कम हो।
संस्थागत निक्षेपतर्फ पनि ब्याजदरमा सामान्य गिरावट आएको छ। भदौमा औसत ३.०८१ प्रतिशत रहेको संस्थागत निक्षेपको ब्याजदर असोजमा घटेर ३.०६६५ प्रतिशत कायम भएको छ।
असोजमा व्यक्तिगत निक्षेपको ब्याजदर घटाउनेमध्ये एभरेष्ट बैंक अगाडि रहेको छ। बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ०.५५ प्रतिशत बिन्दुले घटाएर ३.५० प्रतिशतमा झारेको छ। संस्थागत निक्षेपको ब्याजदर पनि ०.२५ प्रतिशत बिन्दुले घटाएर ३.२५ प्रतिशत कायम गरेको छ।
नबिल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.३० प्रतिशत बिन्दुले घटाएर ४.२५ प्रतिशतमा कायम गरेको छ। संस्थागत निक्षेपतर्फ भने ३.०१ प्रतिशतको दरलाई यथावत राखेको छ।
त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.०५ प्रतिशत बिन्दुले घटाएर ३.७५ प्रतिशत तथा कुमारी बैंकले ०.०३ प्रतिशत बिन्दुले घटाएर ३.७३ प्रतिशत कायम गरेका छन्। सिटिजन्स बैंकले संस्थागत निक्षेपको ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाउँदै २.७५ प्रतिशतमा झारेको छ।
धेरै बैंकले ब्याजदर घटाइरहँदा सानिमा बैंकले भने संस्थागत निक्षेपतर्फको ब्याजदर ०.२१ प्रतिशत बिन्दुले बढाएर ३.५१ प्रतिशत पुर्याएको छ। व्यक्तिगत निक्षेपतर्फ भने बैंकले ४.५० प्रतिशतको ब्याजदरलाई निरन्तरता दिएको छ।
व्यक्तिगत निक्षेपतर्फ असोज महिनामा सबैभन्दा बढी ब्याजदर प्रभु बैंकले दिने भएको छ। बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याजदर कायम गरेको छ।
माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकसहित १५ वटा बैंकले भने असोजमा व्यक्तिगत निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसक्दा बैंकहरू निक्षेपको लागत घटाउनेतर्फ केन्द्रित भएका छन्। यही अवस्थाका कारण वाणिज्य बैंकहरूले पछिल्ला महिनादेखि निक्षेपको ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिएका छन्।