ई-आर्थिक, काठमाडौं । औषधि व्यवस्था विभागले सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरूमा चिकित्सकीय प्रमाणबिना प्रचार तथा बिक्री गरिएका औषधिजन्य वस्तुहरूको बिक्री–वितरण तत्काल रोक्न निर्देशन दिएको छ।
विभागले जनस्वास्थ्यमा गम्भीर खतरा पुर्याउने सम्भावना भएको भन्दै औषधिको नाम र तस्बिरसहित सार्वजनिक सूचना जारी गर्दै यी उत्पादनहरूमाथि प्रतिबन्ध लगाएको हो।
फेसबुक, टिकटक, युट्युबजस्ता माध्यममा थाइराइड, प्रोस्टेट, सुगर, युरिक एसिड, मोटोपन, यौनशक्ति वृद्धि, रक्सीको लत छुटाउने, क्यान्सर निको पार्ने जस्ता दाबीसहित पौरुष हेल्थ जीवन, पौरुष जीवन, डिफ्यूजल–एल, कायाप्लस, १०० हर्स पावर, ३० मिनेट स्टप, डायबेटिक कन्ट्रोल, जिमनेमा सिलभेस्ट्रे क्याप्सुल, बूजी जस्ता औषधिहरूको प्रचारप्रसार भइरहेकामा विभागले गम्भीर चासो व्यक्त गरेको छ।

विभागले प्रेस्क्रिप्सन विना यस्ता औषधिको प्रयोग गर्नु स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। वैज्ञानिक परीक्षण र गुणस्तर प्रमाणीकरण बिना बिक्रीमा आएका यस्ता औषधिले गम्भीर साइड इफेक्ट ल्याउन सक्ने विभागको चेतावनी छ।
विभागका महानिर्देशक नारायण ढकालले जारी गरेको सूचनामा भनिएको छ, “विज्ञापनमार्फत भ्रम फैलाउने, औषधिलाई निश्चित उपचारको रूपमा प्रस्तुत गर्ने, यौनशक्ति वृद्धिका आधारहीन दाबी गर्ने क्रियाकलाप तुरुन्त बन्द गर्न आवश्यक छ। यस्ता औषधिले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ।”
विभागले यस्ता औषधिजन्य वस्तु सेवन नगर्न उपभोक्तालाई आग्रह गर्दै, उत्पादन, ओसारपसार र बिक्री वितरणमा संलग्नहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।
साथै, औषधि व्यवस्था ऐन अनुसार यस्तो गतिविधि गैरकानुनी भएको र यस्ता विज्ञापनहरू सामाजिक सञ्जालबाट तुरुन्त हटाउन चेतावनीसमेत दिइएको छ।
