ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको समीक्षा अवधिमा चालु खाता ३०७ अर्ब ३१ करोडले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२०० अर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.८ अर्ब ९६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.५ अर्ब ४६ करोड रहेको थियो ।
यसैगरी, समीक्षा अवधिमा रु.११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.८ अर्ब २४ करोड रहेको थियो ।
राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति रु.४९१ अर्ब ४४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.४२५ अर्ब ६७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब ६२ करोडले बचतमा रहेको छ ।